धमाधम पक्राउ पर्दै हलेसी क्षेत्रका गाँजा कारोबारी

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन्। दुर्छिमस्थित बतासेघाटनजिकैको सुइटे खोला बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर राखिएको भन्ने सूचनाका आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका दुवैविरुद्ध लागुऔषध बेचबिखन तथा कारोबार महलअन्तर्गत जिल्ला अदालत खोटाङमा बुधबार मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशकुमार ठाकुरले जानकारी दिए। ३२ किलो चार सय ८५ ग्राम गाँजासहित पक्राउ परेका उनीहरू दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

गत भदौ ५ गते १५ केजी गाजाँसहित सोही नगरपालिकाको वडा नं. ७ महादेवीस्थानस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको थियो। राईले प्रतिबन्धित लागुऔषध गाँजा बिक्री गर्न घरमा लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले गाँजासहित पक्राउ गरेर मुद्दा चलाएको छ।

सोही नगरपालिकाको वडा नं. १ बाहुनीडाँडाका दुई युवकलाई प्रहरीले गत असोज २८ मा पक्राउ गरेको थियो। उनीहरूले लागुऔषध उत्पादन गर्ने उद्योग नै सञ्चालन गर्दै आएका पाइएको थियो। गाँजा, सुर्ती र चुना प्रयोग गरेर लागुऔषध उत्पादन गर्दै आएका बाहुनीडाँडास्थित बयाक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपालीलाई उद्योगबाटै पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो।

पक्राउ परेका राई र नेपालीको उद्योगबाट सात केजी गाँजा, १५ बोरा प्याकिङ गरिएको भाले ब्रान्डको सुर्ती, दुई बोरा खुला सुर्ती, दुई बोरा चुना, एक बोरा लागुऔषध प्याकिङ गर्ने प्लास्टिक, लागुऔषध बनाउने एक थान मेसिन, दुई बोरा लागुऔषधको प्याकेटमा टालिने स्टिकर, दुई थान फलामे दाउ र एक थान अचानो बरामद गरेको थियो। पक्राउ परेका उनीहरू दुवैजनाविरुद्ध प्रहरीले मुद्दा चलाई उनीहरूको उद्योगबाट बरामद गरेको कच्चा पदार्थ नष्ट गरेको थियो।

यसैगरी, गत चैत ४ गते सोही नगरपालिकाको वडा नं. ७ राटमाटेका केबी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो। प्रहरीका अनुसार गाँजा कारोबारमा संलग्न रहेका राई हाल फरार छन्। प्रहरीले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरी खोजी कार्य जारी रहेको जनाएको छ।

गाँजा खेती नष्ट गर्न र कारोबार निरुत्साहित गर्न प्रहरीको अभियान
हलेसी क्षेत्रमा अवैध रूपमा हुँदै आएको गाँजा खेती नष्ट गर्न तथा बिक्री–वितरणमा रोक लगाउन जिल्ला प्रहरी कार्यालयले अभियान सञ्चालन गर्दै आएको छ। विगत वर्षहरूदेखि नै सञ्चालन गर्दै आएको अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मीटारबाट खटिएको प्रहरी टोलीले यस वर्ष मात्रै करोडौँ मूल्यबराबरको गाँजा खेती नष्ट गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश भागमा बसोवास गर्ने स्थानीय बासिन्दाले गाँजाको अवैध रूपमा व्यावसायिक खेती गर्दै आएका छन्। सुक्खा क्षेत्रमा पर्ने हलेसी आसपासमा अन्य अन्नबाली उत्पादन नभएपछि स्थानीय बासिन्दाले विकल्पका रूपमा गाँजाको खेती गर्दै आएका हुन्। जिल्लाको पश्चिमी क्षेत्रमा उत्पादन हुने गाँजा छिमेकी जिल्ला उदयपुर हुँदै अन्यत्र निर्यात हुने गरेको स्रोतले जनाएको छ।

सुझावित समाचार