रुस–युक्रेन युद्धका कारण बढ्न थालेको मूल्यवृद्धि र कालोबजारी नियन्त्रणमा चासो दिन उद्योगी–व्यापारीहरूले सरकारसँग आग्रह गरेका छन्। आइतबार मोरङ व्यापार संघले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उद्योगी–व्यापारीहरूले युद्ध सुरु भएसँगै झन् बढ्दै गइरहेको मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न समयमै संवेदनशील हुन सरकारसँग आग्रह गरेका हुन्।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले सरकार समयमै संवेदनशील भएमा मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सकिने बताए। सरकारले चासो दिन ढिलाइ गरेमा युद्ध चर्किएसँगै मूल्यवृद्धि झनै बढ्नेमा सचेत गराए। रिजालले बढ्दो मूल्यवृद्धिलाई चासो दिएर आयातीत कच्चा पदार्थ र अन्य वस्तुहरूमा भन्सार महसुल कम गर्नुपर्ने, खाद्य संस्था, साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङजस्ता सरकारी निकायहरूले खाद्यवस्तुको ‘बफर स्टक’ राख्नुपर्ने, खाद्य तथा अन्य उपभोग्य समानमा स्वदेशी आत्मनिर्भरता बढाउने नीति ल्याउनुपर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी भएको बैंकको ब्याजदर पाँचदेखि सात प्रतिशतमा झार्नुपर्ने माग गरे।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य तथा उद्योगी महेश जाजूले ब्याजकै लागि बैंकमा करोडौँ रुपैयाँ निक्षेप गर्ने चलनलाई अन्त्य गर्न २० लाख रुपैयाँको सीमा लागू गर्नुपर्नेमा जोड दिए। उनले सेना, प्रहरी, बिमा संस्थानहरूले विनालगानी बैंकमा राखिने रकमहरूलाई चार प्रतिशतभन्दा बढी ब्याज भुक्तानी गर्ने चलन चलाउनुपर्ने बताए।। उद्योगी जाजूले भने, ‘उत्पादनको क्षेत्रमा लगानी गर्नेहरूलाई चर्को ब्याज लगाएर बसी–बसी नाफा कमाउनेहरूलाई झन् धनी बनाउने काम राष्ट्र बैंकले बन्द गर्नुपर्छ।’
मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले खाद्य वस्तु, औद्याेगिक कच्चा पदार्थ र तयारी वस्तुहरूको ढुवानी लागत घटाउन डिजेलमा सरकारले करको दरहरू घटाउनुपर्नेमा जोड दिए। उनले भारतमा आयात हुने खानेतेलमा शून्य भन्सार दर कायम गरेजस्तै नेपाल सरकारले पनि उपभोग्य वस्तुमा कम भन्सार दर कायम गरेर महँगी नियन्त्रण गर्नुपर्ने बताए।
कालोबजारी गर्नेलाई कारबाही गर्न माग
उद्योगी–व्यापारीहरूले युद्धलगायतका कुनै पनि बहानामा कालोबजारी र जमाखोरी गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। आफूहरू कसैले पनि कृत्रिम अभाव सिर्जना नगरेको भन्दै उनीहरूले कसैले गरेको भए कारबाही गर्न माग गरे। व्यापार संघका अध्यक्ष रिजालले अन्तर्राष्ट्रियस्तरमै अचाक्कली मूल्यवृद्धि हुन थालेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको, तर त्यसको बहानामा जमाखोरी र कालोबजारी गर्न नमिल्ने बताए।