विश्वमा एक अर्ब १० करोड युवा बढी हल्ला हुने मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुँदा श्रवण अशक्तताको उच्च जोखिममा छन्
विश्व स्वास्थ्य संगठनको (२०२१ अप्रिल को अपडेट) अनुमानअनुसार संसारभर करिब ४३.३ करोड मानिसमा श्रवण अशक्तता छ । जसमध्ये ३.४ करोड बालबालिका छन् । हरेक १० जना व्यक्तिमध्ये एकजनालाई कुनै न कुनै किसिमको सुनाइको समस्या हुने अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार शीघ्र कार्यनीति ल्याइएन भने आउँदा वर्षमा मानिसमा सुन्ने अशक्तता झन् बढ्नेछ । सन् २०३० सम्ममा ६३ करोड र सन् २०५० सम्ममा ९० करोड मानिसमा यो समस्या हुने प्रक्षेपणले देखाउँछ । दक्षिण एसियामा कुल जनसंख्याको ४.६ देखि ८.८ प्रतिशत मानिसमा श्रवण अशक्तता रहेको र यीमध्ये बालबालिकाको संख्या अधिक रहेको छ । एक अर्ब १० करोड युवा (१२ देखि ३५ वर्ष उमेर) बढी हल्ला हुने मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने हुँदा श्रवण अशक्तताको उच्च जोखिममा छन् ।
श्रवण अशक्तताको प्रतिकूल असर शारीरिक तथा मानसिक स्वास्थ्य, शिक्षा र रोजगारीमा समेत पर्छ । बालबालिकामा हुने यो समस्यामध्ये आधाभन्दा बढी (झन्डै ६० प्रतिशत) रोकथाम गर्न सकिन्छ । श्रवण शक्तिमा समस्या हुनाले कतिपय बालबालिका विद्यालय शिक्षाबाट पनि वञ्चित छन् । नेपालमा १५ वर्षमुनिका करिब दुई लाख ५० हजार बालबालिकामा सुस्त श्रवणको समस्या छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार सुस्तश्रवण भएका करिब सात हजार बालबालिका मात्र विद्यालयमा भर्ना भएका छन् । त्यसअनुसार करिब तीन लाख ४३ हजार बालबालिका श्रवण शक्तिमा समस्या हुनुका साथै विद्यालय शिक्षाबाट पनि वञ्चित छन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ‘सुनाइ कमजोरी’ भन्नाले २५ डेसिबल वा सोभन्दा बढी र ‘अशक्त रूपमा सुनाइ कमजोरी’ भन्नाले ३५ डेसिबलभन्दा बढीको सुनाइ कमजोरीलाई जनाउँछ । यो समस्या भएका ८० प्रतिशतभन्दा बढी व्यक्ति कम र न्यून आय आर्जन भएका देशमा छन् । ‘सुस्त श्रवण’ भन्नाले २० डेसिबलभन्दा धेरै सुनाइ कमजोरी भएको व्यक्तिलाई जनाउँछ, जसले कुराकानी गर्न साङ्केतिक भाषा पनि प्रयोग गर्छन् ।
ध्वनि प्रदूषणले करिब एक खर्ब व्यक्तिको श्रवण शक्तिमा असर गर्ने अनुमान भएकाले सन् २०१५ मै विश्व स्वास्थ्य संगठनले ‘मेक लिसनिङ सेफ इनिसिएटिभ’ सुरु गरेको थियो । यसका लागि निम्न कार्यक्रमबाट अघि बढ्ने उद्देश्य थियो :
- स्वास्थ्य सुनाइका लागि अभिमुखीकरण र जनचेतना फैलाउने ।
- ध्वनि प्रदूषण न्यूनीकरणको मापदण्ड लागू गर्ने ।
- मइन्टरनेसनल युनियन अफ टेलिकम्युनिकेसन (आइटियू) र विश्व स्वास्थ्य संगठनको सहकार्यमा ‘ग्लोबल स्टान्डर्ड फर सेफ लिसनिङ डिभाइसेज एन्ड सिस्टम्स’ लागू गरिने ।
बहिरोपन र सुनाइको कमजोरीका प्रमुख कारण कानको संक्रमण, वंशाणुगत, सुनाइलाई असर पुर्याउने औषधि, मेनेन्जाइटिस, दादुरा, हाँडे, टाइफाइडजस्ता संक्रामक रोग आदि हुन् । अत्यधिक ध्वनि आउने संगीत र विस्फोटक पदार्थको आवाज इत्यादिले पनि सुनाइमा असर पार्छ ।
१) ०–७० डेसिबलसम्मको आवाजले श्रवण शक्तिमा क्षति पुर्याउँदैन । सास लिएको, कानेखुसी गरेको, रुखमा पातहरू हल्लेको, पानी परेको, सामान्य कुराकानी गरेको, ट्याक्सी चलेको जस्ता आवाज यसअन्तर्गत पर्छन् ।
२) ७१–९० डेसिबलसम्मको आवाजलगातार आठ घन्टासम्म सुनियो भने श्रवण शक्तिमा क्षति हुन सक्ने सम्भावना हुन्छ । ट्रक, मिक्सचर, कपाल सुकाउने मेसिन आदिका आवाज यसअन्तर्गत पर्छन् ।
३) १०० डेसिबलसम्मको आवाज लगातार १५ मिनेटसम्म सुन्दा श्रवण शक्तिमा क्षति हुने सम्भावना हुन्छ । हेलिकोप्टर, हवाईजहाज आदिका आवाज यसअन्तर्गत पर्छन् ।
४) ११०–११५ डेसिबलसम्मको आवाज एक मिनेट मात्र सुनेमा पनि श्रवण शक्तिमा क्षति हुने सम्भावना धेरै नै हुन्छ । बाजा, मोटर चलेको, ट्र्याक्टरका आवाज यसअन्तर्गत पर्छन् ।
५) १२०–१४० डेसिबलसम्मको आवाजले श्रवण शक्तिमा तुरुन्तै पूर्ण रूपमा क्षति हुन सक्ने सम्भावना हुन्छ । कान दुख्ने सम्भावना पनि हुन्छ । पटाका, पुलिस साइरन, जेट इन्जिन आदिका आवाज यसअन्तर्गत पर्छन् ।
ध्वनि प्रदूषणबाट हुने सुनाइको कमजोरी र बहिरोपनलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व श्रवण दिवस ३ मार्चमा ‘टु हियर फर लाइफ, लिसन विथ केयर’ भन्ने नारासाथ मनाउन सबैलाई आह्वान गरेको थियो ।
९ वर्षदेखि बहिरोपन र सुनाइ कमजोरी निवारणका लागि लक्षित गरी स्नायुजन्य अपांगता न्यूनीकरणमा लागिपरेको बिपी नेत्र प्रतिष्ठानअन्तर्गत सञ्चालित बाल आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनस्र्थापना सेवाले पनि यस वर्षको विश्व श्रवण दिवस २–४ मार्च मनाउँदै छ । ध्वनि प्रदूषणबाट हुने सुनाइको कमजोरीलाई न्यूनीकरण गर्न अस्पतालले यससम्बन्धी जनचेतना फैलाउने सामग्रीका साथ ट्राफिक प्रहरी र उच्च जोखिममा काम गर्ने व्यक्तिहरूको विद्युतीय माध्यमद्वारा सुनाइ परीक्षण नेपालमै पहिलोपटक गर्न लागेको छ । यो परीक्षणलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिइसकेको छ । अमूल्य सुनाइ शक्ति र कानलाई ध्वनि प्रदूषणबाट बचाउन र विश्व श्रवण दिवसलाई एक दिन मात्र नभई वास्तविक रूपमा सफल पार्न निम्न उपाय अपनाउन सकिन्छ :
१. वयस्कले ८० डेसिबलको ध्वनिमा साताको ४० घन्टाभन्दा बढी समय नबिताउने ।
२. बालबालिकाले ७५ डेसिबलको ध्वनिमा साताको ४० घन्टाभन्दा बढी समय नबिताउने ।
३. टिभी, रेडियो, मोबाइल आदि प्रयोग गर्दा आवाज चर्को नगर्ने ।
४. चर्को आवाज आउने औजार, विद्युतीय उपकरण वा फ्याक्ट्रीमा काम गर्दा ‘इयर प्लग’ वा ‘इयरमफ’ प्रयोग गर्ने ।
५. समय–समयमा कान र सुनाइको जाँच गराउन नाक, कान, घाँटी रोग विशेषज्ञ, अडियोलोजिस्ट र कान सहायक सहयोगीसँग परामर्श लिने ।
(डा. पौड्याल नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्)