सेयर बजारमा भित्री कारोबार, सर्कुलर ट्रेडिङ भइरहेको भन्दै अर्थ मन्त्री जनार्दन शर्माले यस्तो कारोबार मान्य नहुने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नवनियुक्त धितोपत्र बोर्डका अध्यक्ष तथा नेप्सेका महाप्रबन्धकसँगको छलफलमा उनले कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिएका हुन् । ‘बजारमा इन्साइडर ट्रेडिङ भयो, सेयरको भाउ बढाउने र डम्प गर्ने गरियो भनेर अहिलेसम्म कुनै सरकारले पनि भनेका थिएनन्,’ अर्थमन्त्री शर्माले भने, ‘हामीले आएर अध्ययन गर्यौँ, भित्री कारोबार भएको पायौँ, एउटा व्यक्तिको मात्र कुरा होइन, यस्ता कुरा नदोहोरिऊन् भन्ने हो ।’
छलफलको क्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डको अनुगमन र सुपरीवेक्षण क्षमता अभिवृद्धिका लागि स्वचालित बजार सुपरीवेक्षण प्रणाली आवश्यक रहेको बताएका छन् । यसका लागि आफूहरूले काम सुरु गरिरहेको उनले जानकारी दिए । उनले अहिलेको ऐनमा भएको व्यवस्थाले मात्र गलत अभ्यास रोक्न नसकिने भएकाले यसमा पनि संशोधनको आवश्यकता रहेको बताए ।
त्यस्तै, नेप्सेका महाप्रबन्धक कृष्णबहादुर कार्कीले अहिलेको व्यवस्थाले कारबाहीका लागि लामो प्रक्रिया लाग्ने भन्दै नीतिगत व्यवस्थामा पुनः सुधार गर्दै लैजानुपर्ने बताएका छन् । उनले नेप्से र सिडिएससीको पुनर्संरचना गरिए प्रभावकारी संस्थाका रूपमा काम हुन सक्ने पनि जानकारी गराएका छन् । मन्त्री शर्माले सरोकारवालाहरूबाट बजार विस्तारका लागि आएका सबैजसो मागको कार्यान्वयनमा लाग्न नेप्से र धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।
यस्ता छन् निर्देशन
- सेयर लिलामी प्रक्रिया स्वचालित नभएकाले मुलुकभरिबाट किन्न पाइरहेका छैनन् । यसमा ध्यान दिनुहोस् ।
- अन्य मुलुकमा अन्तरदिन कारोबार हाम्रोमा अझै आएको रहेनछ । सेयर सापटी लिएर पनि कारोबार हुने व्यवस्था मिलाउन सकिन्छ ।
- ब्रोकरहरूले परामर्श दिनेलगायतका काम गर्न पाएका छैनन्, त्यस्तै, मार्जिन लेन्डिङ पनि राम्रोसँग कार्यान्वयनमा आउन सकेको देखिँदैन । त्यसैले फुल ब्रोकर सेवाको लाइसेन्स दिनुपर्छ ।
- कारोबारको राफसाफ सुनिश्चितताका लागि प्रभावकारी राफसाफ ग्यारेन्टी फन्ड हुनुपर्ने रहेनछ । त्यसमा पनि काम गर्नुपर्ने देखिन्छ ।
- २०७५ बाट टिएमएस प्रणाली भित्रिएको भए पनि यो प्रयोगकर्तामैत्री हुन सकेको छैन । मोबाइल एपमार्फत पनि सेयर कारोबार गर्न सकिने व्यवस्था गर्नुपर्छ ।
- अहिले हाम्रो मुलुकलाई विकासका लागि वार्षिक १८ देखि २० खर्बको पुँजी अभाव रहेको मानिन्छ । यो बजार त्यसका आधार बनोस् । स्टार्टअपलगायतका साना कम्पनीलाई पनि बजारमा प्रवेश गराउनुपर्नेछ ।
- अहिले भएको सफ्टवेयरले अपेक्षित परिमाणमा काम गर्न नसकेको देखिएकाले अपडेट गर्नुपर्यो । टिएमएसले पनि अन्य सेवा समेट्न नसकेका गुनासा आएका छन् । यिनलाई सम्बोधन गर्नुपर्यो ।
- अहिले सूचीकरणका लागि आउन नसकेका वा योग्य नभएका विभिन्न संस्थालाई बजारमा भित्र्याउन समस्या छ । हुन त ओटिसी बजारमा यस्ता कम्पनीको काम हुन्छ । तर, यसको विस्तार हुनुपर्नेछ ।
- भारतलगायतका देशमै पनि अर्थतन्त्रको प्रतिबिम्बित हुने केही सीमित कम्पनीका आधारमा सूचक बनाइएको छ । त्यसैले अर्थतन्त्र प्रतिबिम्बित हुने गरी वैज्ञानिक तरिकाले सूचक बनाउनुपर्नेछ ।