युक्रेनविरुद्ध युद्ध घोषणा भएको छैटौँ दिन रुसले मंगलबार युक्रेनको राजधानी किभमा ‘लक्षित हमला’ गर्न बख्तरबन्द गाडीको लस्कर पठाएको छ भने दोस्रो ठूलो सहर खार्किभमा रकेट प्रहार गरेको छ । रुसले किभस्थित युक्रेनी सुरक्षा सेवा र सूचना प्रविधि केन्द्रहरू ध्वस्त पार्न आक्रमण गर्न लागेको भन्दै वरिपरि रहेका सर्वसाधारणलाई ठाउँ छाड्न चेतावनी दिएको छ ।
रुसले त्यही प्रयोजनका लागि ठूलो संख्यामा बख्तरबन्द सैनिक गाडी पठाएको छ । करिब ६० किलोमिटरसम्म रुसी सैनिक चढेका गाडीको लस्कर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाएका छन् । अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सरले जारी गरेको तस्बिरमा रुसी ट्यांक, तोपखाना र इन्धन ट्रकहरूको लस्कर उत्तरतर्फको राजमार्गमा ४० माइल (६० किलोमिटर)सम्म देखाएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमेर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै भनेका छन्, ‘शत्रुहरूको मुख्य लक्ष्य किभ सहर हो । हामी किभमा कुनै असर हुन दिनेछैनौँ ।’
खार्किभमा रकेट आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । युद्धको पाँचौँ दिन बेलारुसमा रुस र युक्रेनका अधिकारीबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको थियो भने बुधबार पुनः वार्ता हुने बताइएको छ ।
युक्रेनी गृह मन्त्रालयका सल्लाहकार एन्टोन हेरास्चेन्कोलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले मंगलबार जनाएअनुसार रुसले किभ र खार्किभमा हमला गरेको छ । रुसी सेनाले सोमबार रातभर राजधानी किभ, ठूलो सहर खार्किभ र दक्षिणी बन्दरगाह सहर मारियोपोलमा तोप प्रहार गरेको थियो । राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले भनेका छन्, ‘हाम्रा सेनाले राजधानी किभवरिपरि आएका रुसी सैन्य विमान खसालिदिएका छन् ।’ युक्रेनी अधिकारीहरूका अनुसार किभ र खार्किभबीचको सहरमा रुसी रकेट आक्रमणमा ७० जना युक्रेनी सैनिक मारिएका छन् ।
युरोपेली संघ (इयू)मा सामेल हुने आधिकारिक अनुरोधमा हस्ताक्षर गरेको भोलिपल्ट मंगलबार युरोपेली संसद्लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनको पक्षमा इयू रहेको प्रमाणित गर्न आग्रह गरे । उनले स्वतन्त्रता रक्षाका लागि आफू अन्तिमसम्म रुसविरुद्ध लडिरहने र विजय हासिल गर्ने विश्वास व्यक्त गरे । उनले सम्बोधन सुरु गर्दै गर्दा इयूका सांसदहरूले उठेर सम्मान प्रकट गरेका थिए ।
यसैबीच, रुसी रक्षामन्त्री सर्गेई सोइगुले आफ्नो लक्ष्य हासिल नभएसम्म युक्रेनमा सैन्य कारबाही जारी राख्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘पश्चिमाहरूबाट सिर्जना भएको खतराबाट बचाउने उद्देश्यका लागि सैन्य कारबाही भएको हो, युक्रेन कब्जा गर्नका लागि होइन ।’
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जेनेभामा आयोजित निःशस्त्रीकरण बैठकमा मंगलबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा युक्रेनले आणविक हतियार खोजिरहेको आरोप लगाए । उनले सम्बोधन सुरु गरेसँगै दर्जनौँ कूटनीतिज्ञ बाहिरिएका थिए । यसैबीच, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रुसविरुद्ध बेलायतको सुरक्षा फौज युक्रेनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।