कहिले बस्न पाइएला सफा राजधानीमा ?

राजधानीको प्रदूषणका कारण फोक्सो तथा मुटुरोगी बढ्दै गएको डाक्टरहरूको भनाइ हुँदाहुँदै पनि हामी आफैँ आफ्नो सहरबजारलाई विरूप पारिरहेका छौँ, जथाभावी फोहोर फालिरहेका छौँ

बुधबार, १८ फागुन, २०७८
डिजिटल संस्करण

काठमाडौंका खाली जमिन र सडककिनार फोहोर प्लास्टिकले ढाकिएका देखिन्छन् । भारतले प्लास्टिक रिसाइकल गरेर ३३ हजार किलोमिटरभन्दा लामो सडक पिच गरिसकेको रहेछ । यस्तो पिच सामान्य पिचभन्दा तीनगुणा बढी टिकाउ हुँदोरहेछ । के नेपालले पनि यसरी जताततै फालिएका प्लास्टिक रिसाइकल गर्न सक्दैन ? कालो प्लास्टिकलाई वातावरण प्रदूषणको मुख्यकारक मानिन्छ । काठमाडौंजस्ता ठूला सहरमा कालो प्लास्टिक बन्द गरिएको भए पनि सुदूरपश्चिमका धेरैजसो जिल्लामा यसको अत्यधिक प्रयोग हुँदै आएको देखिन्छ । हामी आफू मात्र सफा भएर पुग्दैन । निरोगी बन्न वरिपरिको वातावरणसमेत सफा हुनुपर्छ । 

बाटामा थरीथरीका मानिस भेटिन्छन् । कोही आफ्नो घरको कम्पाउन्डसँगै सडक पनि बढारिरहेका हुन्छन् । कोही भने आफ्नो घरलाई धुलाम्मे हुनबाट जोगाउन सडकमा पानी छ्यापिरहेका हुन्छन् । कोही भने घर बढारेर निस्केको फोहोर सडकमै मिल्काइरहेका पनि भेटिन्छन् । कोही भने आफ्नो घरको छतबाट नजिकै रहेको खाली जमिनमा फोहोरका प्लास्टिक फालिरहेका समेत भेटिन्छन् । खाली जमिन देख्नासाथ फोहोर फालिहाल्ने, नजिकका खोलीनालामा फोहोर फाल्ने र सडककिनारमा जथाभावी फोहोर थुपार्ने सहरवासीका कारण राजधानी काठमाडौं कुरूप हुँदै गएको छ । यहाँको वातावरण दूषित हुँदै गएको छ ।

जथाभावी फोहोर फाल्नेहरूका कारणले मात्र सहरको सुन्दरतामा ह्रास आएको होइन । लामो समयसम्म सडक खनेर अलपत्र छोड्दा त्यस्ता ठाउँमा हिँड्न र बस्नै नसकिने गरी उड्ने धुलोले वृद्ध, बालबालिकालगायत सबैलाई गम्भीर असर पुर्याइरहेको छ । केही समययता काठमाडौंजस्ता ठूला सहरका सडकको अवस्थामा केही सुधार आए पनि कच्ची सडक लामो समयसम्म पिच हुन सकेका छैनन् । दिनहुँ हजारौँ गाडी गुड्ने, सयौँ मानिस हिँड्ने पशुपति क्षेत्रनजिकैको गौरीघाटदेखि नयाँपुलसम्मको सडकखण्ड बनाउन सुरु गरिएको लामो समय भइसकेको छ । 

बागमती नदीको वारिपारि दुईतिरकै करिडोर दिउँसो हेर्दा बादल लागेजस्तै धुलाम्मे भएका देखिन्छन् । पुलमाथि एक मिनेट पनि मास्कविना उभिन सकिँदैन, सास फेर्नै कठिन हुन्छ । बौद्ध घुम्न आउने पर्यटक पशुपति हुँदै गोठाटारस्थित कृष्णमन्दिर जान रुचाउँछन् । तर, धेरैजसो पैदल हिँड्न खोज्ने पर्यटक प्रदूषणकै कारण रोकिने गरेका छन् । साँघुरा कच्ची, खाल्टाखुल्टी भएका सडकबाट निस्केको धुलो, धुवाँले सडकमा हिँड्ने मान्छेलगायत घरभित्रै बस्ने बालबालिका र वृद्धवृद्धासमेत सुरक्षित छैनन् । 

प्रदूषणका कारण राजधानीमा मात्र नभई देशैभरि फोक्सो तथा मुटुरोगी बढ्दै गएको डाक्टरहरूको भनाइ रहेको छ । यसै पनि सहरमा रूखहरू कम र यातायातका साधन र कलकारखाना बढी हुने हुँदा सास फेर्न स्वच्छ हावाको कमी हुन्छ । यस्तोमा वेलावेलामा घरभित्रबाट निस्कने फोहोर कैयौँ दिनसम्म नउठ्दा हावामा झनै प्रदूषण बढ्ने गरेको छ । अहिले पनि घरबाट निस्केको फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा काठमाडौं महानगरपालिकाले घरबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने छुट्याई कुहिने फोहोरलाई आफैँले प्रयोग गर्न आह्वान गरेको छ । सानो जमिनमा बनेका कतिपय घरका ढोकाहरू सडकमै खुल्ने गर्छन् । यस्ता घरमा थोरै जमिन पनि खाली हुँदैन । यस्तोमा कुन ठाउँमा बगैँचा बनाउने र घरबाट निस्केको फोहोर कता प्रयोग गर्ने ? 

सडकमा जताततै थुक्ने, चकलेट, गुट्खाका खोल, चुरोटका ठुटा, प्लास्टिक पेपर आदि फोहोरजन्य वस्तु जताततै फाल्दै हिँड्ने बानीलाई सबैले सुधार्न जरुरी छ । यति गर्न सकियो भने 
मात्र हाम्रो सहरबजार सफा हुन सक्छ । बढ्दो प्रदूषण नियन्त्रणमा आउन सक्छ ।     

सुझावित समाचार