आजभन्दा २० वर्षपहिले गुजरात गोधराको रेलको एक कम्पार्टमेन्टमा ५९ जना मारिए र त्यस घटनापछि सिर्जना भएको हिंसामा एक हजारभन्दा बढी मानिस मारिए । हिंसाबाट धेरै पाठ सिक्न सकिन्छ । तर, हामीले सिक्याैँ चाहिँ के ?
हामीले मृतकलाई विभाजन गर्न सिक्यौँ । हामी करुणा भावमा पक्षपाती हुन सिक्याैँ । हामीले हामीभित्र छिपेको सुषुप्त घृणाको शक्ति महसुस गर्यौं । यो घृणालाई हामीले आन्तरिकीकरण गर्यौं, यसलाई बाहिर निस्कन दिएनौँ र जब घृणा विस्फोट भयो तब थेग्नै नसक्ने क्रोध बाहिर आयो र त्यसले हामीलाई निकै कमजोर बनायो ।
हामीले बदलाको भावनालाई सामान्यीकरण गर्यौँ । हामीले विगतमा थुप्रै आक्रोश नझेलेका होइनाैँ तर, सन् २००२ ले प्रतिशोधलाई स्वीकार्य बनायो । हामीले भड्काउवादी नारा लगाउनु ठीक हो भन्ने पायौँ । हामीले उत्तेजनाले सिर्जना गरेको प्रतिशोध हिंस्रक भएको पायौँ । रेलमा मानिसलाई जलाउँदा हामीभित्रको क्रोधलाई हामीले चिन्यौँ किनभने हामीमध्ये कतिपयलाई जलेकाहरू हाम्रा मानिस हुन् र जलाउने उनीहरूका मानिस हुन् भन्ने लाग्यो । हामीमाझ हामी उनीबीचको यो भावना बलियो बन्न पुग्यो ।
हामी न्याय र प्रतिशोधबीच फसेका छौँ । यद्यपि न्याय स्थापित हुनेछ तर समय लाग्नेछ । प्रतिशोध चाँडै सम्भव हुन्थ्यो र धेरैलाई रोमाञ्चक लाग्थ्यो अर्थात् प्रतिशोध परपीडक आनन्द थियो । हामीसँग अपूरा तथ्य थिए, तर सत्य हाम्रो पक्षमा थियो भन्ने हामीले मान्यौँ र त्यसैअनुसार काम गर्ने विश्वास राख्यौँ । हामीले अफवाहहरूलाई तथ्यका रूपमा स्वीकार गर्न थाल्यौँ, छापिएका र बोलिएका शब्दलाई विश्वास गर्यौं तर छापिएका शब्दले संयमको संकेतलाई त्याग्यो र दनदनी आगोमा
मट्टीतेल झोस्यौँ ।
हामीले इतर समुदायको व्यवसाय र सम्पत्तिमा आक्रमण गर्यौं, किनभने अशान्ति र हिंसाले त्यसो गर्ने अवसर दियो । हिंसाको मुखर रूपमा निन्दा नगरी, घाइते र बलात्कृत भएका निर्दोषलाई सहयोग नगरेर र लुटिएका सर्वसाधारणको संरक्षण नगरेर नेताले घृणाको आगो ओकल्न मन पराउनुलाई स्विकार्यौँ । हामीले नेताले त्रासदीको भावना जगाएर शोषण गरेको पायौँ ।
हामीले अपराधी र पीडकबीच भिन्नता खोजेनौँ हामीले पीडितले जे भोगे उनीहरू त्यसैका लायक थिए भन्ने ठान्यौँ । हामीले पीडितमै गल्ती खोज्यौँ । हामीले उनीहरूलाई पाठ सिकाउन खोज्यौँ । हामीले व्यक्ति वा सानो गिरोहको अत्याचारबाट समुदायलाई नै अपराधी बनाइदियौँ । हामीले संरक्षकको जिम्मेवारी पाएकाहरूकै गल्तीलाई बेवास्ता गर्यौं ।
धेरैले गुपचुप अमलेट खान रुचाउने सहरमा पनि कहिलेकाहीँ अमलेट बनाउन हामीले अन्डा फोड्नुपर्ने तथ्य स्विकार्यौँ । अरूसँग अन्तत्र्रिmया गर्नबाट जोगिन हामीले बगैँचामा पर्खाल लगायौँ र बाँधिएर बस्यौँ । हामीले अपमानजनक भाषा बोल्नुलाई पनि ठीक हो भनेर स्वीकार गर्यौं । हाम्रा बोलीमा नियन्त्रण रहन छुट्यो । नेताले गम्भीर आपत्तिजनक भाषण गर्दा हामी खुसी हुने स्थिति खडा भयो । हामीले न्याय दिने अदालतका सीमितता पनि देख्यौँ । हामीले वास्तविक राजनीतिले कानून, सिद्धान्त, प्रक्रिया, नैतिकता र निष्पक्षताको भावना कसरी उपेक्षा गर्न सक्छ भनेर देख्यौँ ।
हामीले सहन र पचाउन सिक्यौँ । हामीले बिर्सन सिक्यौँ । हामी पीडकले कुनै पश्चात्ताप नगरे पनि पीडितले माफी दियोस् भन्ने चाहन थाल्यौँ । हामी सबै बिर्सेर अगाडि बढ्न चाह्यौँ । हामीले पीडितलाई पनि त्यसै गर्न भन्यौँ । पीडितले आफूमाथि भएका अत्याचार फेहरिस्त प्रस्तुत गर्दा पनि उनीहरूले के भोगे, त्यो हामीले कहिल्यै समानुभूति गरेनौँ । हामीले गान्धीको तस्बिरमा माला लगाउँदै गर्दा हाम्रा विद्यालयमा गान्धीका हत्यारालाई आदर्शका रूपमा किन हेर्ने भन्ने विषयमा वक्तृत्व प्रतियोगिता चलायौँ । प्रतियोगिता पनि यस्तो ठाउँमा चलायौँ, जहाँबाट मात्र ८० किलोमिटर टाढाको सहरमा गान्धीले अन्यायपूर्ण करको विरोध गर्दै दाण्डी नुन आन्दोलन गरेका थिए । फलस्वरूप एक पूरा साम्राज्य डुबेको थियो ।
तपाईं, म र अन्य जो बहुसंख्यक हुन्, सत्तामा बिराजमान छन् र समाजमा वर्चस्व जमाएका छन्, ती सबैले आफू उल्टो अत्याचारमा परेको मान्यौँ । २७ फेब्रुअरी सन् २००२ र त्यसपछि भएका घटनाले हाम्रो सामूहिक असफलतालाई उजागर गर्यो । र, हामीले यसलाई भूलका रूपमा देख्न सकेनौँ । हाम्रो कद घट्दै गयो जब कि हामी आफूलाई ठुलो हौँ भनेर दाबी गर्न थाल्यौँ । हामी कति परिवर्तन भएका छौँ वा के बन्यौँ भन्ने थाहा नपाईकनै यसको नतिजासँग बाँच्न अभिशप्त भएका छौँ ।
सम्भवतः हाम्रो देखाउने अनुहार नै मुखुन्डो थियो अर्थात् हामी सदैव हिंस्रक थियौँ । हामीलाई शान्त पार्न, हाम्रा हतियार मिल्काउन, हाम्रा शब्दावली परिवर्तन गर्न र घृणाको बोलीलाई हटाउन गान्धी लागिपरेका थिए । उनको हत्या भएको सात दशक पुग्दा पनि हामीले उनको आवश्यकतालाई बोध गरेनौँ । हामीले केवल अचेत भई अगाडि बढ्न सिक्यौँ । स्क्रल डट इनबाट