दोलखाको भीमेश्वर नगरपालिका–३ बस्ने १६ वर्षीय साहिल तामाङ र २० वर्षीय पुस्कर थामीनिकट मित्र थिए । विद्यालय जान छोडिसकेका उनीहरू फुर्सदमा जंगल जाने र गुलेलीको प्रयोगले चराहरूको सिकार गर्ने, काम हुँदा चरिकोट बजारकै खानेपानी लाइन बिस्तार गर्ने कम्पनीमा ज्यामी काम गर्थे । उनीहरूसँग अर्का दुई नाबालक साथीहरू पनि थिए । नाबालकमध्ये एउटाको उमेर ११ वर्ष र अर्कोको १३ वर्ष थियो ।
अघिल्लो हप्ताको शनिबार पुस्कर र साहिल दुवैको काम थिएन, काम नभएपछि दुई नाबालक साथीहरूसहित चारैजना चरिकोटभन्दा तलको जंगलमा चरा मार्न जाने सल्लाह भयो । पुस्कर र साहिलका बीचमा केही समयअघिदेखि सामान लेनदेनका विषयमा मनमुटाव भइरहेको थियो । प्रहरीका अनुसार पुस्करको दुई हजार पाँच सय रुपैयाँको स्पिकर–उफर साहिलले लगेको र पटकपटक फिर्ता माग्दा नदिएकोले उनीहरूबीचको दुरी बढ्दै गएको पुस्करले बयानमा भनेका छन् ।
पुस्करले दुई नाबालकहरूसँग साहिललाई साउथ इन्डिएन फिल्मी स्टाइलले मार्ने र टेप लगाएर एकान्त जंगलमा गाड्ने योजना सुनाएका थिए । उनले बजारकै एक मेडिकलबाट मोटो ब्यान्डेज टेप किनेर बोकेका रहेछन् । योजना सुनेपछि थोरै प्रलोभनमा परेर दुई नाबालकले सहमति जनाए । साहिल र पुस्करसहित चारजनाको टोली करिब ११ बजेतिर चरिकोट बजारभन्दा तल्लो भागको जंगलतर्फ लागे । भीमेश्वर–३ को तल्लो भालुखोला भन्दा झन्डै १ सय मिटर तल जंगलमा उनीहरूले गुलेलीको प्रयोग गरी एउटा चरा मारे र आगोमा पोलेर बाँडीचुँडी खाए ।
चराको मासु खाइसकेपछि पुस्करले उफर फिर्ता दिन साहिललाई भने– दिन्छस् भने दे नत्र आज मर्छस् । तर, साहिलले नदिने भनेपछि पुस्करले छेउमा भएको बलियो डन्डी टिपेर सीधै टाउकोमा प्रहार गरेपछि साहिल ढले । त्यसपछि दुई नाबालकलाई हात र खुट्टा समाउन लगाएर उनले अनुहारमा पूरै टेप टाँसे । एकान्त जंगल भएकाले साहिल चिच्याउँदा पनि कसैले सुनेन । उनको नाक, मुख, आँखा सबै बन्द हुने गरी ब्यान्डेज टेप लगाएर हात र खुट्टासमेत बाँधी जिउँदै गाडेर उनीहरू घर फर्किएको प्रहरीसँगको बयानमा खुलेको छ । बयानका क्रममा पुस्करले साउथ इन्डिएन फिल्मको सिको गरेरै साहिलको हत्या गरेको बताएका छन् । जिउँदै गाडेका उनको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
साहिलको स्थायी घर भीमेश्वर नगरपालिका–२ स्थित फुलपा भन्ने गाउँमा पर्छ । बाबुआमाबीच राम्रो सम्बन्ध नभएको र राजधानी काठमाडाैंमा भएकाले उनी चरिकोटमा हजुरआमासँग बस्थे । धेरैजसो साथीभाइसँग बाहिरै बस्ने भएकाले उनको खोजीसमेत भएन । शुक्रबार सोही जंगलनजिकैको बारीमा बाँदर आएपछि बाँदर धपाउन गएका स्थानीयले साहिलको शव गाडिएको ठाउँमा कुकुरले तान्दै गरेको देखे । उनीहरूले भीमेश्वर–३ का वडाध्यक्ष हरिशरण सिवाकोटीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । एक साता माटोमा गाडेको उनको शव अन्यत्र बिग्रिन लागे पनि बलियो गरी टेप लगाइएकाले टेप खोल्दा अनुहार चिनिने थियो ।
प्रहरीले शवको पहिचान गर्न सोधखोज गरेसँगै केही बेरमा साहिलको परिवारले थाहा पायो । हजुरआमासँग बस्दै आएकी साहिलकी दिदी चिच्याउँदै प्रहरी कार्यालय पुगिन् र उनकै सूचनाका आधारमा पुस्करसहित दुई नाबालकलाई प्रहरीले तत्कालै नियन्त्रण गरी अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको ४ घण्टापछि घटनाको सबै विवरण खुलेको दोलखाका प्रहरी प्रमुख डिएसपी गंगाप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार साहिलको शवलाई पोस्टमार्टमका लागि राजधानी पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।