शेरबहादुर देउवाले एमसिसी अनुमोदनमा सहयोगसँगै प्रधानमन्त्रीमा आफ्नो निरन्तरताको सुनिश्चितता पनि एमालेसँग खोजेका छन् । अहिलेको पाँचदलीय गठबन्धन भत्किए आफू अल्पमतमा पर्ने र विश्वासको मतका लागि सदनमा जाँदा एमालेले सघाउनुपर्ने उनको भनाइ छ । त्यसो हुँदा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा आफ्नो निरन्तरता रहने प्रधानमन्त्री देउवाको निष्कर्ष छ ।
आफ्ना माग सम्बोधन भए उनको प्रस्तावमा एमालेले पनि लगभग सहमत छ । तर, प्रधानमन्त्री देउवा अझै विश्वस्त भइसकेका छैनन् । उनले एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नै ‘ग्यारेन्टी’ खोजेका छन् । औपचारिक सहमतिअघि प्रधानमन्त्री देउवा र ओलीले सँगै राष्ट्रपति भण्डारीसँग छलफल गर्ने स्रोतको दाबी छ ।
प्रधानमन्त्रीको प्रस्तावमा ओली पनि सकारात्मक
एमसिसीमा सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्तावमा एमाले अध्यक्ष केपी ओली सकारात्मक छन् । तर, त्यसका लागि एमालेबाट विभाजित भएर एकीकृत समाजवादीमा लागेका १४ सांसद हटाएको सूचना संसद्मा टाँस्ने वा सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोग ल्याउन कांग्रेस तयार हुनुपर्ने उनको सर्त छ ।
प्रधानमन्त्री देउवा त्यसमा सहमत भएका छन् । त्यसरी अघि बढ्दा अमेरिकाले दिएको १६ फागुनको समयसीमाभित्र भने एमसिसी पास नहुन सक्छ । तर, दुई ठूला दल मिल्दा चाँडै पारित गर्ने ग्यारेन्टी भने गर्न सक्छन् ।