प्रचण्ड, नेपाल र खनालबीच भेटघाट, एमसिसीबारे छलफल

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूले एमसिसीको विषयमा छलफल गरेका छन् । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसिसीबारे छलफल भएको हो । 

छलफलमा एमसिसीबारे आफ्नो पार्टीले विनासंशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसिसीको विपक्षमा मतदान गर्ने ह्विप दिने नेता खनालले बताए । उनले एकीकृत समाजवादी सुरुदेखि नै परिमार्जनवि एमसिसी पास गर्न नदिने पक्षमा रहेको बताए । 

नेता खनालले भने, ‘सामाजवादीको स्ट्यान्ड सुरुदेखि अन्तिमसँग क्लियर छ– नो एमसिसी । विदाउट एनी चेन्ज अर एमेनमेन्ट नो एमसिसी । हामी दुई पार्टीहरू जहिलेसुकै पनि एउटै स्ट्यान्डमा छौँ । त्यो भनेको परिमार्जनविना, संशोधनविना हामी एमसिसी पास गर्दैनौँ ।’

त्यस्तै, बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमसिसीको विपक्षमा मतदान गर्ने विषयमा छलफल भएको बताए । उनले संसदमा हुने एमसिसीको छलफलमा भाग लिने र त्यसका लागि सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउन आग्रह गर्ने पनि बताए । 

नेता गुरुङले भने, ‘एमसिसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदै छ । तर, अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन । डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ । राष्ट्रिय विषयमा सबै संसदहरूले बोल्ने चान्स पाउनुपर्ने हुन्छ । यही विषयमा सबैसँग सभामुखलगायतसँग छलफल गर्ने कुरा भएको छ ।’

सरकारले गत फागुन ८ गते एमसिसी छलफलका लागि संसदमा पेस गरिसकेको छ । सरकारले अमेरिकी परियोजना एमसिसी पास गर्नका लागि संसदमा पेस गरे पनि सत्तारुढ दलहरू नै एमसिसीको विपक्षमा उभिएका छन् 

सुझावित समाचार