ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जासचिव आलोक कुमारसहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। बिहीबार भएको भेटमा उनीहरूबीच समग्र ऊर्जा क्षेत्रको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ।
सो अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत् आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्ने बताइन्। आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले उत्पादन तथा व्यापारमा द्विपक्षीय सहज सहकार्यको आवश्यकता औंल्याइन्। उनले भनिन्, ‘हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ। जहाँबाट दुवै देशको विकासका लागि मद्दत पुग्छ र तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ। यस अर्थमा सचिवस्तरीय बैठक फलदायी हुने मैले विश्वास लिएको छु।’
भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकी मुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
सो अवसरमा भारतका ऊर्जासचिव आलोक कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। ऊर्जा व्यापारका लागि सहज वातावरण बनाउन आफूहरू सकारात्मक रहेको बताउँदै उनले काठमाडौंमा चलिरहेको बैठकले सफल नतिजा दिने आशा व्यक्त गरे।
बैठकमा ऊर्जासचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङसहितका अधिकारीको सहभागिता थियो भने भारतका तर्फबाट बैठकमा सहभागी हुन नेपाल आएका एवं नेपालस्थित भारतीय राजदूतावासका उच्चअधिकारीको सहभागिता थियो।