प्रतिबन्धित लागुऔषध बिक्री गर्ने श्रीमान्–श्रीमतीसहित नौजना पक्राउ

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

महँगाे  मूल्यमा प्रतिबन्धित औषधि लागुऔषध बिक्री गर्ने फार्मेसी सञ्चालक श्रीमान्– श्रीमती र लागुऔषध सेवन गर्ने सातजनासहित नौजना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका– १९, विराटचोकमा रहेको  नेती फर्मा र  डे–ड्रिम मेडिसिन सेन्टरका सञ्चालक श्रीमान्–श्रीमतीसहित प्रयोग गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा मेडिकल सञ्चालक सुन्दरहरैँचा नगरपालिका– १० का ४५ वर्षीय सुशील काफ्ले र उनकी श्रीमती ३२ वर्षीया गोमा कार्की छन् । यसैगरी पक्राउ पर्नेहरूमा  लागुऔषध प्रयोग गर्ने सुन्दरहरैँचा– १ का २३ वर्षीय सनम खवास, सुन्दरहरैँचा– १० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ, सुन्दरहरैँचा– ९ का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेस परियार र ३४ वर्षीय अनुप खड्का रहेका छन् । 

मोरङ प्रहरीले दिएको जानकारीअनुसार उनीहरूलाई  विशेष सूचनाका आधारमा प्रदेश प्रहरीको विशेष अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो । प्रहरीले दुवै पसलबाट ठूलो परिमाणमा बिक्री गर्न राखिएको  प्रतिबन्धित औषधिहरू पनि बरामद गरेको छ । 

प्रहरीका अनुसार उक्त दुईवटा मेडिकलले न्युरिन, एक्टिकोफ, प्रेज, एपावालिन र स्पास्पसेनलगायतका विभिन्न प्रतिबन्धित औषधिहरू  चिकित्सकको अनुमतिवि अवैध रूपमा महँगाे मूल्यमा  बिक्री गर्ने गरेका थिए । 

सुझावित समाचार