आयात कडाइले उपभोक्ता मूल्य अकासिने : उद्योग वाणिज्य महासंघ
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि प्रभावित हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै कोभिडका तीनवटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेका वेला आएको समीक्षाले सकारात्मक प्रभाव नपर्ने उल्लेख गरेको छ ।
महासंघको सुझाबबमोजिम उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने गरी अध्ययन गर्ने विषय स्वागतयोग्य रहेको र यसको तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ । कर्जाको ब्याजदर बढाउनेतर्फ मौद्रिक नीतिको समीक्षा केन्द्रित भएकाले पुँजीको लागत थप बढ्ने महासंघको ठम्याइ छ । हाल कर्जा निक्षेप अनुपात तोकिएभन्दा माथि रहेको अवस्थामा बैंक दरमा गरिएको २ प्रतिशत बिन्दुको वृद्धिले कर्जासमेत महँगिने महासंघको निष्कर्ष छ ।
पुनर्कर्जाको ब्याजदरसमेत बढाएकाले विशेष गरी साना तथा मझौला उद्यमी प्रभावित हुने, भारतबाट हुने आयातमा कडाइ गरिने संकेत गरेकाले यसले अनधिकृत व्यापार बढ्नुका साथै मूल्यसमेत अकासिने महासंघको ठहर छ । करिब ४९ लाख सर्वसाधारण जोडिएको सेयर बजार कर्जामा गरिने कडाइले साना लगानी प्रभावित हुने भन्दै महासंघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
राष्ट्र बैंकले अर्धवार्षिक समीक्षाअन्तर्गत कर्जा लगानीमा कडाइ गर्न संकेत दिए पनि बैंकरहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् । कर्जामा गर्न लागिएको कडाइले अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई नियन्त्रण गर्ने प्रयास थालिएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । उनले भने, ‘हाम्रो मुलुकमा औपचारिकभन्दा पनि अनौपचारिक क्षेत्र बढी चलायमान छ ।’ अर्धवार्षिक समीक्षामा ट्रस्ट रिसिप्टलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने उल्लेख गरेको छ । विश्वका अन्य मुलुकमा पनि बाह्य दबाब बढ्दै जाँदा कर्जामा लगाम लगाउन यस्ता उपायहरू अपनाइने शेरचनले बताए ।
त्यस्तै, बैंकहरूले अन्तिम विकल्पका रूपमा राष्ट्र बैंकबाट सात दिनलाई पुँजी पाउने स्थायी तरलता सुविधाको ब्याजदर ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको छ । एक रातका लागि चलाइने ओभरनाइट रिपोको ब्याजदर पनि ३ दशमलव ५ प्रतिशतबाट बढाएर ५ दशमलव ५ प्रतिशत पुर्याएको छ । बैंकहरूले प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकमा राख्ने रकमको ब्याजदर पनि २ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाएको छ । यसले कर्जा केही महँगिने एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए ।