सर्वसाधारणको गोप्य विवरणको दुरुपयोग हुने जोखिम
डिम्याट खाता तथा सेयर कारोबारका लागि अनलाइन खाता (टिएमएस) खोलिदिने भन्दै बिचौलियाहरूले सर्वसाधारणको गोप्य विवरणहरू माग गर्ने गरेको पाइएको छ । खाता खोल्न ब्रोकर कम्पनीसम्म धाउनुनपर्ने हुनाले सोझा सर्वसाधारणहरूले आफ्नो सम्पूर्ण विवरण सामाजिक सञ्जालमार्फत यस्ता व्यक्तिहरूलाई दिने गरेका छन् । जसले गर्दा उनीहरूको गोप्य विवरण दुरुपयोग हुने सम्भावना रहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
खाता खोलिदिने भन्दै सामाजिक सञ्जालमार्फत सर्वसाधारणसँग नजिकिने एक व्यक्ति हुन्, मन्दीप फौदार । ब्रोकर कम्पनीहरूसँग नियमित सम्पर्कमा रहेकाले सर्वसाधारणको चाँडो खाता खोलिदिने उनी बताउँछन् । नासा सेक्युरिटिज प्रालि(५८), जेएफ सेक्युरिटिज प्रालि(७) र कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि(३५) मार्फत उनले ग्राहकहरूको खाता खोलिदिन्छन् । तर, ब्रोकर कम्पनीसँग खाता खोलिदिने विषयमा कुनै सम्झौता नभएको उनी स्वीकार गर्छन् । ‘ब्रोकरसँग हाम्रो सम्झौता त भएको छैन,’ फौदारले नयाँ पत्रिकाको जिज्ञासामा भने, ‘ब्रोकरहरूसँग हाम्रो नियमित सम्पर्क भइरहने भएकाले छिटो काम गरिदिन्छन् ।’ ब्रोकरहरूलाई यसरी ग्राहक ल्याइदिए पनि ब्रोकरबाट शुल्क नपाउने उनको भनाइ छ । ग्राहकबाटै दुई सयसम्म अतिरिक्त आफूहरूले उठाउने गरेको उनले बताए ।
यसरी ब्रोकर र ग्राहकको बीचमा बसेर काम गरिरहेका अर्का व्यक्ति गोपाल थापाले नासा सेक्युरिटिज(५८) र अनलाइन सेक्युरिटिज प्रालि(४९) बाट धेरैको व्यक्तिगत विवरणहरू संकलन गरेर खाता खोलिदिएका छन् । उनीहरूका अनुसार खाता खोल्ने व्यक्तिको आवश्यक कागजात भाइबर, फेसबुकमा माग गरिन्छ र प्राप्त भएपछि विवरण भरेर ब्रोकरकहाँ पठाइन्छ । शुल्क रकम भने इसेवा वा बैंक खातामार्फत प्राप्त गर्छन् ।
यस्ता खाता खोल्दा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने र तेस्रो व्यक्तिको कल्पना नगरिएको नेप्सेका प्रवक्ता पराजुली बताउँछन् । ‘ब्रोकर कम्पनी र हितग्राही स्वयं उपस्थित भएर यस्तो सम्झौता गरिएको हुनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म यसमा तेस्रो पक्ष सामेल हुन सक्ने व्यवस्था छैन, बाहिरबाट यसमा संलग्न हुनेको जवाफदेही कसैसँग पनि नहुने भएकाले भोलि हितग्राही समस्यामा पर्दा ऊ आफैँले जोखिम व्यहोर्नुपर्छ ।’
तर, यसरी ब्रोकर र लगानीकर्ताका बीचमा रहेर काम गर्नेहरूको जमात बढ्दै गए पनि उनीहरू कारबाहीको दायरामा आएका छैनन् । यस्ता जमात सामाजिक सञ्जालहरूमा निष्फिक्री आफूमार्फत सेयर अनलाइन कारोबार खाता खोल्न प्रचार गरिरहेका छन् ।
‘एजेन्टमार्फत गर्नु आफैँमा पनि गलत हो, अनलाइनबाट फाराम भरेर विवरणहरू पेस गरेपछि खाता जसको नाममा खोलिने हो, सो व्यक्ति स्वयं उपस्थित हुनुपर्छ,’ अनलाइन सेक्युरिटिज(४९) प्रालिका अध्यक्ष तथा प्रमुख दिनेश शर्माले भने, ‘त्यसैले यसरी मध्यस्थकर्ताले खाता खोलिदिन सहज छैन र यस्तो कहीँकतै भएको भए यो गलत हो ।’
ब्रोकरले एजेन्ट नै राखेर यस्तो गतिविधि गरेको हो वा कुनै पनि व्यक्ति आफैँ यस्तो काममा लागेको पाइए यी दुवैलाई कारबाही हुने नेपाल धितोपत्र बोर्डका निर्देशक नीरज गिरीले बताए । सेयरको अनलाइन खाता खोल्दा व्यक्तिको हस्ताक्षर, ल्याप्चे छाप (बायोमेट्रिक विवरण) समेत हुने भएकाले अधिकार नै नपाएका व्यक्तिहरूबाट संकलन हुँदा भविष्यमा ग्राहकहरूले अन्य जोखिमको सामना गर्नुपर्ने हुन सक्छ ।
वैयक्तिक गोपनीयतासम्बन्धी हक २०७५ ले समेत अधिकारप्राप्त निकायले मात्र यस्ता विवरण संकलन गर्न सक्ने र जुन उद्देश्यका लागि प्रयोग गरिएको हो, त्यसैमा प्रयोग हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै, सार्वजनिक निकायले संकलित सूचना तथा विवरणको अनधिकृत पहुँच रोक्न सुरक्षाको उपाय अवलम्बन गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । तर, अहिले सेयर खाता खोल्ने नाममा विभिन्न व्यक्तिहरूले यस्तो सूचनामा अनधिकृत पहुँच बढाइरहेका छन् । यस्तोे गरिएमा तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था यस ऐनमा छ ।
त्यसबाहेक वस्तु विनियम बजारसम्बन्धी ऐन, २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरेर यस्तो गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याउन सकिनेसमेत नेप्सेले उल्लेख गरेको छ ।