एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा निर्माणाधीन घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत् आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्धित आयोजना हो ।
रेमिट हाइड्रोको मुख्य लगानीकर्ता जलविद्युत् लगानी तथा विकास कम्पनी तथा रेमिट्यान्सकर्ताहरू रहेको जनाइएको छ । एनएमबि बैंकले सम्झौतापत्रमा हस्ताक्षरपश्चात् अन्य बैंक तथा वित्तीय संस्थालाई समेत सामेल गराई सहवित्तीयकरणमार्फत वित्तीय व्यवस्थापन गर्ने जनाएको छ । घुन्सा खोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रुपैयाँ रहने जनाइएको छ । एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको जनाइएको छ । बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ एटिएम, नौवटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।