नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शुक्रबारदेखि ओमानमा सुरु हुने आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेका छन् । आश्चर्यजनक रूपमा खराब फर्मबाट गुज्रिरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र अनुभवी ब्याट्सम्यान शरद भेषवाकर टोलीमा परेका छन् । यी दुवै खेलाडीले चारदेशीय टी–२० सिरिजमा खराब प्रदर्शन गरेका थिए । युवा आक्रमक ब्याट्सम्यान तथा अलराउन्डर कुशल मल्लसँगै ओपनर प्रदीप ऐरी तथा स्पिनर साहव आलमले अन्तिम १४ भित्र आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
यता युवा खेलाडी गुलसन झा पहिलोपटक टी–२० राष्ट्रिय टोलीमा परेका छन् । कुशल चारदेशीय टी–२० सिरिजअन्तर्गत आयरल्यान्डविरुद्ध खेलेका थिए । उनले १६ बलमा ९ रन बनाएका थिए । कमजोर प्रदर्शन बाबजुद टोलीमा स्थान पक्का गरेका पूर्वकप्तान ज्ञानेन्द्रले तीन खेलमा ४० रन बनाएका थिए । शरदले ३ खेलमै मौका पाउँदा १५ रन मात्र बटुले । टोलीबाट बाहिरिएका बायाँहाते साहब आलमले युएईसँग २ ओभरमा ३५ रन खर्चेका थिए । प्रदीप ऐरीले पहिलो खेलमा १४ बल खेलेर ४ रन बनाएका थिए ।
शुक्रबारदेखि ग्लोबल छनोट
नेपालले शुक्रबार घरेलु टोली ओमानसँग खेल्दै आइसिसी टी–२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ । ओमानसँगको खेलसँगै नेपालले आफ्नो दोस्रोपटक टी–२० विश्वकप खेल्ने अभियान सुरु गर्ने छ । ग्लोबल छनोटअघि ओमानमै भएको चारदेशीय टी–२० सिरिजमा नेपालको प्रदर्शन कमजोर भयो । नेपालले ओमानमाथि ६ विकेटको सानदार जित निकालेको थियो ।
त्यसपछि कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपाल युएई र आयरल्यान्डसँग पराजित भयो । यद्यपि दुवै टोलीलाई नेपालले मध्यम योगफलमै समेटिएको थियो । तर, ब्याटिङ कमजोरीका कारण नेपालले मध्यम स्कोर पनि पछ्याउन सकेनन् । प्रशिक्षक दासानायकेले ग्लोबल छनोटमा कमजोरी सुधार हुने अपेक्षा गरेका छन् । नेपाल युएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।
ग्लोबल छनोटको शीर्ष दुईले यसै वर्षको अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी पुरुष टी–२० विश्वकप खेल्नेछन् । नेपालले पहिलो खेल १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ । नेपालको समूह बीमा ओमान, फिलिपिन्स र क्यानडा छ । समूह एमा बहराइन, आयरल्यान्ड, युएई र जर्मनी छन् । शीर्ष दुई–दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने टोली विश्वकपको लागि छनोट हुनेछन् ।
नेपालको खेलतालिका
- फागुन ६ नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १
- फागुन ७ नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २
- फागुन ९ नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १
- फागुन १० पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)
- फागुन १० दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)
- फागुन १२ फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बीबीचको विजेता)
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलसन झा
गुलसनले करणको स्थान लिने
ढाडको चोट निको नभएपछि अलराउन्डर करण केसीले आसन्न आइसिसी टी–२० ग्लोबल विश्वकप छनोटका सबै खेल गुमाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा अब करणको स्थानमा अर्का युवा फास्टबलर गुलसन झाले खेल्नेछन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले करणको स्थानमा गुलसनलाई रिप्लेसमेन्ट गर्न लागेको बताएका छन् । क्यानका कार्यबाहक सचिव मल्लका अनुसार गुलसन भिसा प्रक्रिया पूरा गरी ओमान जानेछन् ।
गुलसन पहिलोपटक नेपालको टी–२० टोलीमा परेका हुन् । उनको क्षमता नै तीवग्रतिको बल फ्याँक्ने तथा मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्छन् ।यसअघि गुलसनले असोजमा आइसिसी टी–२० विश्वकप लिग २ अन्तर्गत अमेरिकासँग डेब्यु गरेका थिए । आफ्नो पहिलो अन्तर्राष्ट्रिय डेब्यु खेलमा उनले २८ रन बटुलेका थिए । सो खेलमा उनले अमेरिकाविरुद्ध गतिलो प्रदर्शन गर्न सकेनन् ।
गुलसनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबमा आबद्ध छन् । गत महिना प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिता र यू–१९ एसिया कपमा गुलसनले राम्रो गर्न सकेनन् ।मुख्य प्रशिक्षक पुबुदु दासानायकेले ओमान भ्रमणका लागि राखेका ३० सदस्य बन्द प्रशिक्षणमा गुलसनलाई राखेका थिए । तर, प्रधानमन्त्री कपमा उनको प्रदर्शन खासै प्रभावकारी भएन । जसका कारण उनी क्लोज क्याम्प टोलीबाट बाहिरिए ।