राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाकोे बुधबारबाट प्राथमिक सेयर निष्कासन हुने भएको छ । संस्थाको आठ करोड ५० लाखबराबरको आठ लाख ५० हजार कित्ता सेयर निष्कासन हुन लागेको हो । जसमध्ये १३ हजार कित्ता सेयर कर्मचारीका लागि, ४२ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
बाँकी सात लाख ९४ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आवेदन दिने अन्तिम दिन छिटोमा फागुनको आठ गतेसम्म तोकिएको छ । संस्थाले प्रकाशित गरेको आह्वानपत्रअनुसार आब ०७८/७९ मा खुद मुनाफा करिब आठ करोड पाँच लाख रुपैयाँ, आब ०७९/८० मा १९ करोड ७३ लाख रुपैयाँ र आव ०८०/८१ मा २७ करोड पाँच लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
जसअनुसार प्रतिसेयर आम्दानी क्रमशः ३० रुपैयाँ ९८ पैसा, ७५ रुपैयाँ ९० पैसा र एक सय चार रुपैयाँ चार पैसा हुने प्रक्षेपण गरिएको छ ।