ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आइपिओ खुला

सोमबार, २ फागुन, २०७८
डिजिटल संस्करण

ग्रीन भेन्चर्स लिमिटेडले सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु. ३१ करोड २५ लाख मूल्यबराबरका प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी (रु. तीन अर्ब १२ करोड ५० लाख)को १० प्रतिशतले रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं. १, २ र ३ तथा लिखु गाउँपालिका– ९ र रामेछापको लिखु तामाकोसी गाउँपालिका– १, २ तथा उमाकुण्ड गाउँपालिका– ७ का आयोजना प्रभावित बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरेको हो। 

सार्वजनिक आह्वानपत्रअनुसार ओखलढुंगा र रामेछापका आयोजना प्रभावित क्षेत्रमा बसोवास गर्ने स्थानीयले आजदेखि छिटोमा यही फागुन १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी चैत १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीले हाल ओखलढुंगाको खिजिदेम्बाको वडा नं. १ र ३ तथा रामेछापको उमाकुण्डको वडा नं. ७ मा केन्द्र रहेको कुल ५२.४ मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु. १२ अर्ब आठ करोड हुने जनाएको छ।

स्थानीयले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुंगाको खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ कम्पनीलाई ‘केयरएनपी–आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ। रासस

सुझावित समाचार