ह्विलचियर बास्केटबलको उपाधि पोखरा नीलोलाई

आइतबार, १ फागुन, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशस्तरीय प्रथम पारा खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजनामा भएको दुईदिने प्रतियोगिताअन्तर्गत एक सय २५ खेलाडीको सहभागिता थियो । प्रतियोगिताअन्तर्गत ह्विलचियर बास्केटबलमा पोखरा नीलोले पोखरा रातोलाई २२–११ अंकले पराजित गर्दै उपाधिसँगै १२ हजार नगद पायो । यस्तै, पोखरा रातोले पनि आठ हजार नगद पाएको छ ।

बहिरा ब्याटमिन्टन एकल पुरुषतर्फ सिजन हिराचन प्रथम, किरण अधिकारी द्वितीय र किसान तामाङ तृतीय हुँदा महिलातर्फ ज्योत्सना गुरुङ प्रथम, लक्ष्मी भण्डारी द्वितीय र सन्तोषी बुढाथोकी तृतीय भए । उनीहरूले क्रमशः तीन हजार, दुई हजार पाँच सय र दुई हजार पुरस्कार पाए ।

मनोसामाजिक अपांगताका लागि म्युजिकल चियरतर्फ भएको प्रतियोगितामा देवीमाया गुरुङ प्रथम, सोनु गुरुङ द्वितीय र माया फेसेङ तृतीय भइन् । अप्टिजम अपांगताका लागि भएको दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः सोफिया ओली, सुभान गुरुङ र आरोही गुरुङ भएका छन् । विजेताहरूले क्रमशः तीन हजार, दुई हजार पाँच सय र दुई हजार नगद पाए । 

सुझावित समाचार