गाउँपालिकाद्वारा नौ विपन्न परिवारलाई घर, धुवाँमुक्त भान्सा बनाउन ग्यास सेट वितरण अभियान

शनिबार, २९ माघ, २०७८
डिजिटल संस्करण

सर्लाहीको विष्णु गाउँपालिकाका ६० वर्षीय बुटन माझी हिजोआज ढुक्क छन्। उनलाई हिउँद र वर्षातले पिरोल्न छाडेको झन्डै वर्ष दिन भयो। नेपाल–भारत सीमावर्ती क्षेत्र सिमरा गाउँका उनले विगत ६ दशक वर्षात्मा छाना चुहिने र हिउँदमा हावाले भित्ता उडाउने दुःखमै काटे। मुसहर समुदायका उनलाई जीवन यसरी नै बित्ने चिन्ता लागिरहन्थ्यो।

‘पुर्खौली सुकुमबासी हामी, बाबुबाजे कसैले दिगो घरवार बनाउ सकेनन्,’ उनले भने, ‘जीवनको यो उमेरमा बलियो घर पाइयो, निकै खुसी लागेको छ।’ यो भन्दै गर्दा उनका आँखाका डिल हर्षका आशुले भरिए। परिवारमा आधा दर्जन सदस्य भएकाले यो उमेरमा पनि दैनिक ज्यालामजदुरी नगरे दुई छाक टार्न उनलाई निकै मुस्किल पर्छ।

उनीजस्तै मुसहर र डोम समुदायका अन्य आठ परिवारले पनि गाउँपालिकाबाट घर पाएका छन्। ‘चुनाव हुँदा स्थानीय सरकारले आफूहरूको यसरी उद्धार गर्ला भन्ने लागेको थिएन,’ घर पाउनेमध्येकी अर्की देवकली माझीले सुनाइन्, ‘नेताज्यूहरू आउनुभयो, हाम्रा लागि भगवान् आए बराबर भएको छ।’ केही वर्ष पहिलासम्म फुसको घरमा हिउँदको सिरेटो र वर्षात्काे पानी पसेर बिचल्ली पारेको घटना देवकलीको मानसपटलमा अझै ताजै छ। ‘त्यसवेला बिजोग थियो। वर्षात्मा रातभर भिजेर बस्नुपर्थ्याे। नभए साहु महाजनकोमा शरण माग्नुपर्थ्याे,’ उनले सुनाइन्, ‘धेरै रात बालबच्चा काखी च्यापेर जागा बसेको छु।’ 

गाउँपालिकाले जनही १९ लाख खर्चमा गाउँका नाै दलित तथा विपन्नको घर निर्माण गरिदिएको हो। बुटन, देवकलीजस्तै सोही गाउँका बलदेव माझी, शनिश्चर माझी, हरेन्द्र माझी, रमेश माझी परिवारले पनि पक्की घर पाएका गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए। गाउँपालिकाले उनीहरूलाई एक भान्छा, दुई कोठा र शौचालयसहितको ढलान गरिएको एकतले घर बनाइदिएको हो।

धुवाँमुक्त भान्सा अभियान, प्रत्येक परिवारलाई ग्यासचुलो सेट
गाउँपालिकाले नागरिकको भान्सा धुवाँमुक्त अभियान पनि सञ्चालन गरेको छ। गाउँपालिकाले अति विपन्नदेखि सम्पन्न परिवारसमेतलाई एक सेट चुलो वितरण सुरु गरेको हो। अभियानअन्तर्गत गाउँपालिकाले एक परिवारलाई एक थान ग्यास चुलो, एक थान सिलिन्डर, एक थान रेगुलेटर र त्यसमा लाग्ने पाइप उपलब्ध गराएको छ।

गाउँपालिकाले हालसम्म चार हजार आठ सय ३१ परिवारलाई ग्यासचुलो सेट वितरण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले जानकारी दिए। गत आर्थिक वर्षबाट सुरु भएको यस अभियानबाट गाउँपालिकाका पाँच हजार ५० परिवार लावान्भित हुने सापकोटाले बताए।

गाउँपालिकाका आठ वडाका सम्पूर्ण परिवारलाई ग्यासचुलो वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले जानकारी दिए। यसरी पूरा गाउँलाई धुवाँमुक्त बनाउन गाउँपालिकाको तीन करोड ६ लाख ३१ हजार पाँच सय खर्च हुने अनुमान गरेको छ।

सुझावित समाचार