पोखरा उद्योग वाणिज्य संघले ६८औँ वर्ष प्रवेश गरेको अवसर पारेर विभिन्न सहयोग गरेको छ । संघले जोखिममा रहेका बालबालिकाका अभिभावकलाई व्यावसायिक तालिम तथा विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
बालश्रम न्यूनीकरणका लागि संघले लामो समयदेखि काम गर्दै आएकोमा पछिल्लो समय जोखिममा परेका अभिभावकको आयआर्जनमा ध्यान दिँदै व्यावसायिक तालिम आयोजना गरिएको संघका अध्यक्ष नारायण कोइरालाले बताए । संघले नवीन माविलाई शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ । जोखिममा रहेका बालबालिकाका अभिभावकका लागि मास्क, मास्क होल्डर तथा झोला बनाउने तीनदिने तालिम दिएको जनाइएको छ । तालिममा सहभागीमध्ये दुर्गा नेपालीलाई संघले एक थान सिलाई मेसिनसमेत सहयोग गरेको छ । तालिममा सहभागीहरूले निर्माण गरेको सामग्री बजारीकरणका लागि संघले सघाउने जनाएको छ ।
संघ स्थापनासँगै व्यावसायिक हकहितका अलाबा पोखरालाई आवश्यक पर्ने पूर्वाधार निर्माण, सामाजिक जागरण, पर्यटन विकास, शैक्षिक संस्था स्थापनालगायतका कामका लागिसमेत संघले काम गर्दै आएको संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बताए । पोखराको पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय संघकै पहलमा स्थापना भएका हुन् । सिद्धार्थ र पृथ्वी राजमार्गसँगै महेन्द्रपुल तथा पोखरा सभागृह निर्माणमा समेत संघको सहयोग रहेको संघका पदाधिकारीले जिकिर गरेका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लबिङसँगै अनशनको नेतृत्वसमेत संघले गरेको बिजुक्छेको भनाइ छ । संघको स्थापना २०११ साल २५ माघमा भएको थियो ।