वैदेशिक रोजगारमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व : श्रममन्त्री श्रेष्ठ

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिबद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र युएईबीच हुने संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा सरोकारवालाहरूसँग मंगलबार गरेको छलफलमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताए । 

आफूले श्रमिकको हितमा परिणाममुखी काम गर्दै आइरहेको चर्चा गर्दै श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरूबाट सहयोगको अपेक्षा गरिएको बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरूलाई सरकारले हदैसम्मको कारबाही गर्ने मन्त्री श्रेष्ठको भनाइ छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल, पारदर्शी र विश्वसनीय सेवा पुर्याउनुपर्नेमा उनको जोड छ । नेपाल र युएईबीच हुने संयुक्त कार्यसमिति बैठकमा नेपालले न्यूनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुनर्एकीकरण तथा पुनर्स्थापना कार्यक्रम सञ्चाचालनजस्ता विषयलाई प्राथमिकता दिने मन्त्री श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमीकमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताए ।  सातवटै प्रदेशमा सञ्चालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य बिमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्यूनतम पारिश्रमिक वृद्धिलगायत एजेन्डा नेपालले प्रस्तुत गर्ने अर्यालले बताए । 

कार्यक्रमका सहभागीहरूले युएईमा रहेका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई नेपालले प्राथमिकता दिनुपर्ने बताएका थिए ।

सुझावित समाचार