जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा रु पाँच करोड २२ लाख मूल्यबराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।
निष्कासन गरिने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले यही माघ २१ देखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ। सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम पाँच हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र यो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी फागुन ६ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको पुँजीको संरचनामा अधिकृत पूँजी रु २५ करोड र हालको जारी पुँजी रु १६ करोडबराबरको तथा तत्कालको चुक्तापुँजी रु १० करोड ७८ लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको सेयरको बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी रु १६ करोड पुग्नेछ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ।