महोत्तरीमा सशस्त्र प्रहरीले कुखुरा फर्मबाट १६० किलो गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा बिहीबार राति नम्बर २ छिन्नमस्ता बाहिनी, बिओपी जलेश्वर तथा जलेश्वर बेसक्याम्पबाट खटिएको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।
महोत्तरी गाउँपालिका– ४ रानी रतवाराको एक कुखुरा फर्मको पछाडि परालको ढिस्कोमा लुकाएर राखेको अवस्थामा १६ पोका गाँजा नियन्त्रणमा लिएको नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी गणेश ठाडामगरले जानकारी दिए। स्थानीय लक्ष्मी चौधरीका छोरा गणेश चौधरीले सञ्चालन गर्दै आएको फर्मको पछाडि रहेको परालको ढिस्कोबाट उक्त गाँजा नियन्त्रणमा लिइएको हो। बाहिनीपति ठाडामगरका अनुसार बरामद भएको गाँजा प्रहरीलाई बुझाउने तयारी भइरहेको छ।
यसअघि पनि सोही फर्मबाट प्रहरीले ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिएको थियो। त्यसपछि पनि भारत लैजान लागिएको गाँजा सशस्त्र प्रहरीले मानिससहित नियन्त्रणमा लिएको थियो। सो क्रममा भएको झडपका क्रममा एक व्यक्ति हराएका थिए, जसको शव केही दिनपछि झडपस्थल नजिकैको पोखरीमा फेला परेको थियो।
झडपका क्रममा गाँजासहित समातिएका भरियाहरूले गाँजा लक्ष्मी चौधरीको भएको बयान दिए पनि चौधरीको प्रहरी संगठनभित्रको सम्बन्धका कारण बच्ने गरेको आरोप छ। पटकपटक उनकै ठेगानाबाट गाँजा पक्राउ पर्दा पनि हालसम्म चौधरी पक्राउ परेका छैनन्।