राष्ट्रिय सभाका १९ सदस्यका लागि मतदान सुरु

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण
राष्ट्रिय सभाका १९ सदस्यका लागि मतदान सुरु

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मतदान गर्दै । तस्बिर : रासस

१९ सिटका लागि हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा

राष्ट्रिय सभा सदस्य १९ पदका लागि निर्वाचन सुरु भएको छ । विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना गर्ने निर्वाचन आयोगको तयारी छ ।

आयोगका प्रवक्ता  शालिग्राम पौडेलले बुधबार नै मतपरिणाम आउने अपेक्षा गरिएको बताए । कोरोना संक्रमणलाई ख्याल गरेर आयोगले स्वास्थ्य सुरक्षाका मापदण्डसहित मतदानको व्यवस्था मिलाएको छ । 

निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता छन् । निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ र प्रदेश सभाका पाँच सय ३२ मतदाता रहनेछन् । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

सबै प्रदेशमा गठबन्धन अगाडि
राष्ट्रिय सभा सदस्य निर्वाचनमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । तर, सात सय ५३ वटै स्थानीय तह र सातै प्रदेश सभा सचिवालयबाट प्राप्त तथ्यांकअनुसार राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन सबै प्रदेशमा अगाडि छ । प्रदेश १ मा भने गठबन्धन र एमालेको मतभार थोरै मात्रै फरक छ । 

पाँचदलीय सत्तागठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । यसबाहेक राष्ट्रिय सभा निर्वाचनमा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पनि छन् । मधेस प्रदेशमा एमाले र लोसपाबीच तालमेल भएको छ । 

सत्तागठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने आठ सिटमा भागबन्डा गरेका छन् । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदै छ । 

रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने गठबन्धनबीच सहमतिअनुसार उम्मेदवारी परेको छ । एमालेसँग भएका आठ सिटमा भने कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिएका छन् । गठबन्धनले एमालेलाई आफ्ना आठ सिट जोगाउन कठिन बनाइदिएको छ । 

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार निर्वाचन हुन लागेको हो । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । १९ सिटका लागि हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा छन् । 

सुझावित समाचार