साल्ट ट्रेडिङका अध्यक्ष मानन्धरको निधन

शुक्रबार, ७ माघ, २०७८
डिजिटल संस्करण

पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ। साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो। राति सुत्न लागेका वेला बान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धुम्बाराही लगिएको थियो। अस्पताल पुर्याएको केहीबेरमा चिकित्सकले मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए। विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उनी संस्थापक सञ्चालकका रुपमा रहेका थिए।     
     
लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उनी एकजना मात्र जीवित थिए। लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आएका थिए। नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनी त्यसको संस्थापक सञ्चालक बनेका थिए। व्यवसायका साथै उनी नेकपा (एमाले) को राजनीतिमा पनि सक्रिय थिए। मानन्धरले नेपाल भाषाको संवर्द्धनमा पनि काम गरेका थिए। 
     
मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ। अन्त्येष्टिअघि ठहिटीस्थित उनको निवासबाट शवयात्रा गरिनेछ। मानन्धरका दुई छोरा र दुई छोरी छन्। रासस
   
 

सुझावित समाचार