एपिएफसँग प्रदेश २ पराजित

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

विभागीय क्लब एपिएफले सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई २४ रनले पराजित गरेको छ । टियू मैदानमा पहिलो ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६३ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा प्रदेश २ ले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन मात्र जोड्यो । प्रतियोगतामा एपिएफका आसिफ सेख म्यान अफ दी म्याच भए । उनले ब्याटिङ क्रममा ४५ बलमा सर्वाधिक ६३ रनको योगदान दिए । 

सेखले यसक्रममा पाँच छक्का र तीन चौका प्रहार गरे । एपिएफले सुरुवात उत्कृष्ट गरेको थियो । प्रदीप ऐरी र सेखबीच पहिलो विकेटका लागि १४.२ ओभरमा एक सय २० रनको साझेदारी भएको थियो । सेखले आफ््नो विकेट रुपेश सिंघलाई दिए । एपिएफले दोस्रो विकेटका रूपमा प्रदीपलाई गुमाएको थियो । प्रदीपले ४८ बलमा नौ चौकाको सहयोगमा ६० रन बनाए । 

यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले एपिएफका लागि गतिलो योगदान दिन सकेनन् । कप्तान शरद भेषवाकरले सात बलमा एक चौकाको सहयोगमा नौ रन बनाए । बलिङ क्रममा प्रदेश २ का रुपेशले चार ओभरमा २५ रन खर्चेर चार विकेट हात पारे । प्रत्युत्तरमा ओर्लेको प्रदेश २ का लागि मोहमद आदिल अलामले १४ बलमा ३५ रनको योगदान दिएका थिए । उनले आफ्नो इनिङ्समा चार छक्का र दुई चौका प्रहार गरे । सो इनिङमा हरिशंकर साहले २६ बलमा सात चौकाको सहयोगमा ३६ रन बटुले । सो इनिङ्समा ६ जना ब्याट्सम्यानले दोहोरो रनै बनाएनन् । बलिङमा कमल ऐरी, अविनाश बोहरा तथा भुवन कार्कीले समान दुई–दुई विकेट हात पारे । 

बागमती प्रदेश ४९ रनले विजयी
यसैगरी, प्रतियोगिताअन्तर्गत समूह बीमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ । मूलपानी मैदानमा भएको खेलमा बागमतीले पहिलो ब्याटिङ गरी सात विकेटको क्षतिमा एक सय १४ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा लुम्बिनी १५.४ ओभरमा ६५ रनमा समेटियो । बागमतीलाई जित दिलाउने क्रममा नन्दन यादवले तीन ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका थिए । 

यसैगरी, रामनरेश गिरीले तीन ओभरमा दुई मेडन राखी दुई रन खर्चेर दुई विकेट लिए । सुभाष खत्री तथा तिलक भण्डारीले समान दुई विकेट लिँदा लुम्बिनीको ब्याटिङ ध्वस्त भयो । लुम्बिनीका लागि कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन बनाए । यसैगरी, बिसर अहमेदले २४ बलमा ११ रन बनाए । 

यसअघि ब्याटिङ गरेको बागमतीका लागि सुभाष खकुरेलले ५३ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले इशान पाण्डेसँग पहिलो विकेटका लागि ६.५ ओभरमा ४३ रन जोडे । सुवासले आफ्नो अर्धशतकीय इनिङ्समा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा दुई चौका प्रहार गरी १९ रन मात्र बनाए । 
 

सुझावित समाचार