- गत अप्रिलमा कार्नेला आफ्नो स्वामित्वमा लिएका लियोनल मेसीले दोस्रो डिभिजनको एल्डेनस क्लबमा शतप्रतिशत लगानी गरेका छन्
लियोनल मेसीले दोस्रो स्पेनिस क्लब किनेका छन् । मेसीले स्पेनिस ला लिगाअन्तर्गत दोस्रो डिभिजनमा रहेको क्लब सिडी एल्डेनस स्वामित्वमा लिएको बिबिसीले जनाएको छ । गत अप्रिलमा मेसीले कार्नेला क्लब किनेका थिए । ‘क्लब डेर्पोटिभो एल्डेनसले मालिकका रूपमा मेसीलाई घोषणा गरेको छ,’ बिबिसीले उल्लेख गरेको छ, ‘क्लब र मेसीबिच अन्तिम सम्झौता पूरा भइसकेको छ । कानुनी रूपमा केही बाधा नआएपछि क्लबले मेसीलाई मालिकका रूपमा स्वीकार गरेको छ ।’
मेसीको लगानीमा क्लबले स्पेनिस ला लिगाको दोस्रो डिभिजनमा यसपटक उत्कृष्ट नतिजा निकाल्ने विश्वास छ । ‘सय वर्ष इतिहास बोकेको क्लबले आगामी दिनमा केही फरक नतिजा निकाली समर्थक र मालिकलाई खुसी पार्नेछ,’ एल्डेनसले जारी गरेको विज्ञप्तिमा भनेको छ । दोस्रो डिभिजनमा अहिले २२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एल्डेनस वर्तमान अंकतालिकाको १९औँ स्थानमा छ । पहिलो सात खेलमा उसले केवल एक जित मात्र निकालेको छ । समग्रमा एल्डेनसले पाँच अंक बटुलेको छ । बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका मेसीले आफ्नो नयाँ क्लबलाई एक उचाइमा पुर्याउने जनाएका छन् ।
कीर्तिमानी रूपमा आठपटकको बालोन डिअर विजेता मेसीले सेप्टेम्बरमै एल्डेनसलाई आफ्नो स्वामित्वमा लिने प्रयास गरेका थिए । एक महिनाको प्रयासपछि उनले क्लब आफ्नो हातमा लिन सफल भए ।
चार वर्षअघि बार्सिलोना छाडेका थिए मेसीले मेसीले आफ्नो व्यावसायिक फुटबल लगभग स्पेनिस क्लबमै बिताए । बार्सिलोनामा १७ वर्षको उमेरमा आबद्ध भएका मेसीले ६ वर्षअघि स्पेनिस क्लब छाडेका थिए । सन् २००४ मा उनले बार्सिलोनाको पहिलो सेटमै प्रतिस्पर्धा गरेका थिए । बार्सिलोना त्याग्नुअघि उनले अन्तिमपटक पनि व्यवस्थापनसँग वार्ता गरेका थिए । तर, बार्सिलोना चरम आर्थिक संकटमा परेको जनाउँदै मेसीलाई क्लबमा राख्न नसक्ने जनाए । त्यसपछि मात्र उनी फ्री ट्रान्सफरका माध्यमबाट बार्सिलोना छाडेर उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध भएका थिए । पिएसजीमा दुई सिजन बिताएपछि उनी डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीमा आबद्ध भए । गत अगस्टमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका मेसीले मियामीबाटै फुटबल करिअर समाप्त गर्ने जनाएका छन् ।
नयाँ क्लबमा नयाँ योजना लागू हुने मेसीले अहिले दोस्रो डिभिजनमा रहेको एल्डेनसलाई फरक योजनाका साथ अगाडि बढाइने बताएका छन् । ‘तत्काल हाम्रो टिमले सबै पक्षको अध्ययन गरिरहेको छ । आगामी दिनमा एल्डेनसमा नयाँ योजना लागू हुनेछ,’ मेसीको भनाइ उद्धृत गर्दै एल्डेनसले भनेको छ, ‘दीर्घकालीन योजनाका साथ अगाडि बढ्नेछ । शीर्ष डिभिजनमा पुर्याउने लक्ष्य हो ।’ डेढ दशक बार्सिलोनामा रहेका मेसीले कीर्तिमानी रूपमा ६ सय ७२ गोल गरेका थिए । उनले बार्सिलोनाबाट सात सय ७८ खेल खेले । सन् २०२१ मा उनी पिएसजीमा पुगे । मेसीसँगै क्रिस्टियानो रोनाल्डोले पनि स्पेनिस क्लबमा लगानी गरेका छन् । रोनाल्डोले स्पेनिस क्लब अल्मेरियाको २५ प्रतिशत सेयर किनेका छन् ।