जापानको नागोया र आइची सहरमा आइतबार २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको समापन हुँदै छ । एसियाडमा एक शरणार्थीसहित ४८ राष्ट्रले प्रतिस्पर्धा गरेका छन् । चीनले पदकतालिकामा एकछत्र राज गर्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ । प्रतियोगितामा नेपाल पनि सहभागी राष्ट्र हो । नेपालले यसपटक एक स्वर्णसहित दोहोरो पदकको लक्ष्य राखेको थियो ।
तर, प्रतियोगिताको समापन दिनसम्म आइसक्दा नेपाल केवल दुई कांस्यमै सीमित भएको छ । नेपालले पदकतालिकाको ३६औँ स्थानमा रहेर प्रतियोगिता सकाएको छ । सन् २०२३ को चीनको हाङझाउमा भएको एसियाडको तुलनामा यसपटक नेपालको प्रदर्शन फितलो रह्यो । तीन वर्षअघि नेपालले एक रजत र एक कांस्य जितेको थियो । गत संस्करणमा नेपालले ३२औँ स्थानमा ओमानसँग स्थान बाँडेको थियो । योपटक नेपाल चार स्थानमा ओरालो लागेको छ । नेपालका लागि दुईपदक कराँते र महिला कबड्डीका खेलाडीले जितेका थिए । कराँतेमा तेन्जिङ शेर्पा र महिला कबड्डीले लगातार दोस्रोपटक कांस्य हात पारेका थिए ।
दुई कांस्यमै सीमित भएको नेपालको प्रदर्शन सोचेजस्तो उपलब्धि नभएको राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टले नयाँ पत्रिकालाई बताए । ‘हामीले एसियाडमा लक्ष्य राख्नैपर्यो । लक्ष्यविना अगाडि बढ्न सकिँदैन,’ विष्टले समीक्षा गर्दै भने, ‘लगानी, बजेट र तयारी नै भएन । यो एसियाडको तयारीका लागि अपर्याप्त छ । यस्तो तयारीले अरू देशलाई भेट्टाउन सकिँदैन ।’
मिसन २६ असफल
१९औँ संस्करणको हाङझाउ एसियाडपछि तत्कालीन राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन ०२६ सञ्चालन गरेका थिए । घिसिङले जापानमा हुने एसियाडमा स्वर्णसहित थप पदक जित्ने योजनाका साथ मिसन २०२६ सुरु गरेका थिए । यसमा पदक जित्न सक्ने खेललाई विशेष प्रशिक्षणमा राखिएको थियो । कराँते, उसु, बक्सिङ, जुडो, गल्फ, महिला कबड्डी र तेक्वान्दोजस्ता खेलका खेलाडीलाई निरन्तर तीन वर्ष प्रशिक्षणमा राखेपले राखेको थियो । तर, २०औँ एसियाडको समापनसम्म आउँदा नेपालले आशा गरिएका खेलबाट सोचेजस्तो नतिजा निकाल्न सकेन । टिम तयारीका निर्देशक विष्टले राज्यको लगानीअनुसार नतिजा निस्केको दाबी गर्छन् । ‘जस्तो लगानी एसियाडमा पनि उस्तै प्रतिफल हो,’ विष्टले भने, ‘वास्तवमै तयारी नै हाम्रो पुगेन । निरन्तर अभ्यास भयो, तर कसरी भइरहेको छ, त्यससम्बन्धी ध्यान कसैले दिएनन् ।’ उनले खेलाडीले के सुविधा पाए र हामीले के गर्यौँ, त्यो समीक्षा हुनुपर्ने बताए ।
एसियाडमा २११ सदस्यीय टोली
प्रतियोगितामा नेपालबाट २१ खेलमा प्रतिस्पर्धा गरेको थियो । समग्र एसियाडमा नेपालबाट एक सय ३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा ७८ पुरुष तथा ५८ महिला खेलाडी थिए । राज्यले खेलाडी र पदाधिकारी गरी कुल दुई सय ११ सदस्यीय टोलीलाई जापानमा सहभागी गराइएको थियो ।
नेपाल सन् १९५१ मा भारतको नयाँदिल्लीमा भएको पहिलो संस्करणदेखि एसियाडमा सहभागिता जनाउँदै आएको छ । तर, नेपालले अहिलेसम्म तीन रजतसहित कुल २८ पदक जितेको छ । जुडोकी प्रशिक्षक सुनीता मगर ताम्राकारले पनि तयारी नै अपुग भएको बताइन् । ‘सरकारले जसरी पदकको आशा गर्यो, त्यसअनुसार तयारी नै भएन,’ उनी भन्छिन्, ‘ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा ध्यान दिएर उनीहरूलाई लगातार अभ्यास गराउनुपर्छ ।’
आशा गरिएका खेलाडी सुरुमै बाहिरिए
यसपटक कराँतेमा एरिका गुरुङबाट स्वर्णको आशा थियो । गत संस्करणमा उनले नेपाललाई ऐतिहासिक रूपमा रजत दिलाएकी थिइन् । पछिल्लो तीन वर्षमा विश्व कराँते महासंघले आयोजना गरेको प्रिमियर लिग वानमा ऐतिहासिक प्रदर्शन गरेपछि एरिकाबाट एसियाडमा स्वर्ण आशा राज्यले गरेको हो । तर, उनी आफ्नो तौलसमूहको पहिलो चरणमै बाहिरिइन् । यसैगरी, कराँतेमै सानुमाया थिङ, राकेश मानन्धरजस्ता खेलाडी पनि पदक समीप पुग्न सकेनन् । यद्यपि, कराँतेमा पाँच खेलाडी भने सेमिफाइनलमा पुगेका थिए । बक्सिङमा चन्द्रबहादुर थापाबाट पनि पदकको आशा थियो । उनले गत वर्ष दुबईमा भएको विश्व च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक कांस्य दिलाएका थिए । उनी आफ्नो बाउटको पहिलो चरणमै भारतका डेब्यु खेलाडीबाट स्तब्ध भए । जुडो र तेक्वान्दोका खेलाडी पहिलो चरणभन्दा अगाडि नै बढ्न सकेनन् । सन् २००६ देखि तेक्वान्दो पदकविहीन छ ।
सुवासले समापनमा नेपालको झन्डा बोक्ने
२०औँ एसियाडको आइतबार समापन हुँदै छ । नेपालका गल्फर सुवास तामाङले समापनमा नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । समापन समारोहमा हुने मार्चपासमा उनले पहिलोपटक नेपालको झन्डा बोक्न लागेका हुन् । यसअघि उद्घाटन नेपालबाट बक्सर चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले झन्डा बोकेका थिए । एसियाडको अन्तिम दिन हुने मार्चपासमा सेभ राखेपका उपाध्यक्ष तथा नेपाली टोलीका सेभ दी मिसन विशाल श्रेष्ठसँगै सरकारका प्रतिनिधि, एनओसीका प्रतिनिधि र खेलाडी सहभागी हुनेछन् ।
जस्तो लगानी उस्तै प्रतिफल हो : दीपक विष्ट, निर्देशक, टिम तयारी
एसियाडमा लक्ष्य राख्नैपर्यो । प्रतियोगितामा सहभागी हुँदा लक्ष्यविना अगाडि बढ्न सकिँदैन । एसियाडको तयारीका लागि लगानी अपर्याप्त छ । हामीले यस्तो किसिमको तयारीले अरू देशलाई भेट्टाउन सक्दैनौँ । वास्तवमा जस्तो लगानी एसियाडमा पनि उस्तै प्रतिफल हो । निरन्तर अभ्यास भयो, तर कसरी भइरहेको छ, त्यससम्बन्धी ध्यान कसैले दिएनन् । खेलाडीले के सुविधा पाए र हामीले के गर्यौँ, त्यो समीक्षा हुनुपर्छ ।
भारतले गर्यो क्रिकेटमा स्वर्ण रक्षा
भारतले २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण रक्षा गरेको छ । भारतले जापानको नागोया र आइचीमा चलिरहेको एसियाडको शनिबार भएको स्वर्ण भिडन्तमा पाकिस्तानलाई १९ रनले निराश बनाउँदै स्वर्ण जितेको हो । निसिन मैदानमा भारतले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर दुई सय ११ रन बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९२ रन जोड्यो ।
सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न एसियाडमा वर्षाले फाइनल खेल बिथोलिँदा भारतले वरीयताका आधारमा स्वर्ण पदक हात पारेको थियो । त्यसवेला भारतले फाइनलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । वरीयतामा पछि रहँदा अफगानिस्तानले रजत जित्यो । एसिसीले यसपटकको एसियाडमा क्वार्टरफाइनलदेखि फाइनलसम्म रिजर्भ डे राखेको थिएन । तर, फाइनलमा वर्षाले खेल पूरा नहुँदा दुवै प्रतिस्पर्धीलाई संयुक्त रूपमा स्वर्ण दिने निर्णय भएको थियो । यद्यपि, भारत र पाकिस्तानबिचको भिडन्तमा वर्षा भएन । दुवै टोलीले पूरै २०–२० ओभर प्रतिस्पर्धा गरे ।
भारतको बलियो ब्याटिङ
भारतले पहिलो ब्याटिङ गरी गतिलो सुरुवात गरेको थियो । ओपनर वैभव सूर्यवंशी र अभिषेक शर्माले पहिलो विकेटका लागि २.१ ओभरमा २८ रनको साझेदारी गरेका थिए । वैभवले नौ बलमा दुई छक्काको सहयोगमा १५ रन जोडेका थिए । त्यसपछि अभिषेक र कप्तान श्रयस अयरबिच तेस्रो विकटका लागि ४१ रनको साझेदारी भएको थियो । अभिषेकले आफ्नो विकेट ७.५ ओभरमा गुमाएका थिए ।
उनी आउट हुँदा भारतले ७.५ ओभरमा ९३ रन जोडेको थियो । अभिषेकले केवल २८ बलमा सात छक्का र तीन चौका प्रहार गरी सर्वाधिक ६१ रनको योगदान दिए । श्रयस र ईशान किसनबिच चौथो विकेटका लागि ३५ रनको साझेदारी भयो । किसनले १८ बलमा २० रन बनाए । भारतका लागि अन्तिम डेथ ओभरमा तिलक बर्माले आक्रामक ब्याटिङ गरे । उनले केवल २२ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ५१ रन जोड्दा भारतले पाकिस्तानलाई दुई सय रनमाथिको लक्ष्य खडा गरेको हो । यसैगरी, शिवम दुवेले १५ बलमा समान दुई चौका र छक्काको सहयोगमा २७ रन बनाए ।
पाकिस्तानका लागि मुख्य बलर सैम आयुवले चार ओभरमा ४७ रन खर्चेर एक विकेट लिए । अफताब मिन्हासले २५ रनमा दुई विकेट लिए । पाकिस्तानले भारतलाई १३ अतिरिक्त रन दिएको थियो ।
हसनले दिलाए आशा
प्रत्युत्तरमा पाकिस्तानले दमदार ओपनिङ गरेको थियो । कप्तान सहिदजादा फर्हान र माजले पहिलो विकेटका लागि ३.४ ओभरमा ३३ रनको साझेदारी गरेका थिए । कप्तान फर्हानले ११ बलमा १० रन बनाए । तेस्रो क्रममा उस्मान खान तीन रनमा आउट हुँदा पाकिस्तान केही समय धर्मराएको थियो ।
तर, हसन नवाजले आफ्नो विकेट रक्षा गर्दै अन्तिमसम्म पाकिस्तानलाई जितको आशा दिलाइरहेका थिए । विकेटको एक छेउमा खेलाडी आउँदा नवाजले क्रिजमा डटेर प्रतिस्पर्धा गरिरहेका थिए । उनले सैम आयुवसँग चौथो विकेटका लागि ८७ रनको साझेदारी गर्दै टोलीलाई १४.१ ओभरमा १२६–४ को स्थितिमा पुर्याए । तर, आयुवले आफ्नो विकेट दुवेलाई दिए । आयुवले २२ बलमा २९ रन बनाए । हसन इनिङ्सको अन्तिम बलमा आउट भए । उनले ५१ बलमा सात छक्का र पाँच चौका प्रहार गरेका थिए । भारतले पनि १० अतिरिक्त रन दिएको थियो ।
श्रीलंकाले जित्यो कांस्य
श्रीलंकाले पुरुष क्रिकेटमा कांस्य जितेको छ । तेस्रो स्थानका लागि भएको प्ले अफमा श्रीलंकाले बंगलादेशलाई ६३ रनले हरायो । पहिलो ब्याटिङ गरेको श्रीलंकाले नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । बंगलादेश १७.३ ओभरमा एक सय दुई रनमा समेटिँदा श्रीलंकाले कांस्य हात पारेको हो । श्रीलंकाको ब्याटिङमा थरिन्दु रत्नायकेले ३२ बलमा पाँच छक्का र सात चौका प्रहार गरी सर्वाधिक ६५ रन बनाएका थिए । कप्तान सहानले ३७ बलमा ३३ रन जोडे । बंगलादेशको ब्याटिङमा नसुन अहमेदले २६ रन तथा प्रबिन हसनले २० रन जोडे । बंगलादेशका शीर्ष तीन ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए । श्रीलंकाको कसिलो बलिङमा बंगलादेशले ३.५ ओभरमा चार विकेट गुमाएर १८ रन मात्र बनाएको थियो ।