एक महिलालाई भारतको कोठीमा पुर्याई बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका– ५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भनिने फूलमाया तामाङलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। उनले एक महिलालाई पोखरा लैजान्छु भन्दै बेहोस बनाई बनाएर भारतको कोठीमा पुर्याएकी थिइन्। उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कपनबाट पुस ९ गते पक्राउ गरेको हो ।
पोखराको होटेलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने, त्यसबापत राम्रो कमाइ हुन्छ भन्दै फूलमायाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई ०७४ साउनमा काठमाडौं आकाशेधारास्थित होटेलमा लगेकी थिइन्। त्यहाँ उनले ती महिलालाई चाउमिनमा बेहाेस हुने औषधि मिलाई खुवाइन्। महिला बेहोस भएपछि विभिन्न ठाउँ हुँदै भारतको बम्बई, इलाहाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरूमा पुर्याई पटक–पटक बेचबिखन गरेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वेश्यावृत्तिमा लगाएको अवस्थामा भारतीय प्रहरीको समन्वयमा नेपाली राजदूतावास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा गत असोज २३ गते ती महिला नेपाल फर्किएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।