सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १३ दशमलव ३६ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको तेह्रौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर तथा शून्य दशमलव ६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार रुपैयाँ पुग्ने जनाइएको छ ।
६ जना सञ्चालक निर्विरोध
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह ‘क’बाट प्रतिनिधित्व गर्ने चारजना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’बाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचनसमेत सम्पन्न गरेको जनाइएको छ । संस्थापक सेयरधनी समूह ‘क’बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएको कम्पनीले जनाएको छ । त्यस्तै, सर्वसाधारण सेयरधनी समूह ‘ख’बाट कृति टिवडेवाल तथा वीरेन्द्रबाबु श्रेष्ठ निर्विरोध निर्वाचित भएको जनाइएको छ ।