सोचदेखि उद्योगसम्मको नारासहित अगाडि बढेको ‘आइडिया स्टुडियो नेपाल’को सिजन ६ का लागि आवेदन खुलेको छ । सिजन ६ मा समावेश हुन १७ माघसम्म आवेदन दिनुपर्ने आइडियाले जनाएको छ । आइडियाले सिजन पाँचसम्म २५ सयभन्दा बढी नवीन व्यवसाय विचारहरूलाई स्थान दिइसकेको छ । त्यसमध्ये एक सय ६० जना इनोभेसन कार्यक्रममा गएका छन् भने ६० भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन् ।
आइडियाले नयाँ उद्यमीहरूको व्यापार अवधारणा अझ राम्रो बनाउन सल्लाह दिने र उक्त विचारलाई एपिवान टेलिभिजनमार्फत प्रसारण गरिने बताइएको छ । त्यसमध्ये चारजना महिलाहरू (मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र ग्रिनोभेसन)का लागि योग्य आइडियाहरूबीच लगानीका लागि योग्य हुनेछन् । आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्थापना भएदेखि आफ्ना प्रमुख कार्यक्रममार्फत सातवटै प्रदेशका १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको बताए ।
आइडियाले सन् २०१६ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्टअपहरूका लागि प्रोत्साहन, स्रोत–साधन, ठाउँ, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको छ । साथै, आइडिया स्टुडियो नेपालको नीति साझेदारका रूपमा राष्ट्रिय युवा परिषद्, काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ज्ञान साझेदार, वर्ल्ड वाइल्डलाइफ नेपाल (डब्लुडब्लुएफ नेपाल) इको इम्प्याक्ट पार्टनर, आइडिया इम्प्याक्ट फन्ड लगानी साझेदार, प्रभु बैंक बैंकिङ पार्टनरका रूपमा रहेका छन् ।
कार्यक्रममा बोल्दै काठमाडौं मोडल कलेजका प्रधानाध्यापक सुरेन्द्र सुवेदीले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा काठमाडौं मोडल कलेजले उद्यमी क्षमता विकासका लागि मञ्च उपलब्ध गराउने लक्ष्य राखेको बताए ।