‘स्टार्टअप एन्ड इनोभेसन’मा प्रदेश १ का २० उद्योग छानिए

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

उद्योग संगठन मोरङले युवा उद्यमीहरूका लागि सञ्चालन गरिरहेको ‘स्टार्टअप एन्ड इनोभेसन’ कार्यक्रममा प्रदेश १ का २० उद्योग छनोट गरेको छ । गत साउनदेखि सञ्चालनमा ल्याएकोे ‘स्टार्टअप एन्ड इनोभेसन’ कार्यक्रममा नयाँ आइडिया पेस गर्ने ४८ मध्ये २० उद्योग छानिएका हुन् । 

छनोटमा परेका उद्यमीहरूलाई उद्योग संगठन मोरङले आवश्यक परामर्शसहित उद्योग स्थापना गरेर उत्पादन गर्न सहयोग गरेको थियो । उत्पादन गरिसकेका उद्योगहरूलाई थप प्रशिक्षण दिएर व्यावसायिक रूपले उद्योग सञ्चालन गर्न प्रोत्साहित गरिने उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिए ।    

 छानिएका युवा उद्योगले १५ पुसमा विराटनगरस्थित उद्योग संगठनपरिसरमा आफ्नो उत्पादनसहित पहिलो हाटबजार सम्पन्न गरेका छन् । छानिएका उद्योगहरूमध्ये झापाको शीतला झोला उद्योगले किनेमल गर्ने कपडाको झोला, स्कुल ब्याग, ट्राभल ब्याग हाटबजारमा बिक्रीका लागि राखेको थियो । 

यसैगरी  तेह्रथुमको हनुमान गोट एन्ड मल्टिप्रपोजले  बाख्रापालन, उदयपुरको रौतामाई नामन्तर कृषि तथा पशुपालन केन्द्रले आर्गानिक सागसब्जी, दूरदर्शी रौतारानीले आधुनिक खरायो फार्म, कोइराला सेनेटरी प्याड तथा नेपकिन उद्योगले सेनेटरी प्याड, बंगुर तथा कालिज फार्मले बंगुर र कालिज बिक्रीका लागि राखेको थियो ।

सुनसरीको दुहबीस्थित प्राउड पोसाकले  तयारी पोसाकहरू, सोलुखुम्बुको हाइलेन्ड अर्गानिक कृषि जडीबुटी तथा पशुपक्षी फार्मले  जिनसेङ, सतुवा, पदमचाल, पाखनबेद, लिलियम आदि विभिन्न जडीबुटीहरू प्रदर्शन गरेको थियो । मोरङको विधान कृषि फार्मले दूधका उत्पादनहरू, निलगौरी अर्गानिक प्याकेजिङ उद्योगले घिउ, छुर्पी, चियापती, ग्रिन–टी, जमराको जुस, कालिका एन्ड एग्रो प्रालिको बायोफ्लक प्रविधिको माछापालन, राजघाट मौरीपालनको मह, रोयल जेली तथा मौरीपालन औजारहरू प्रदर्शन गरेका थिए । 

सुझावित समाचार