दुई छोरीलाई स्कुल पठाएर हतार–हतार पानीमा रुझ्दै मलको लाइनमा आइपुगिन्, गीतानगरीकी पुनम लामिछाने सुवेदी । बिहानको नौ बजे नै सहकारीमा आइपुगेकी उनलाई पानीले भिजाएकोमा भन्दा बढी चिन्ता मल पाइन्छ कि पाइँदैन भन्नेमा बढी थियो । ‘आफ्नो जमिन छैन, भाडामा लिएर अरूको डेढ बिघा जमिनमा खेती गरेकीछु,’ पुनमले भनिन्, ‘यस्तो पानीमा भिज्दै आउने रहर कसलाई पो हुन्छ र ? आम्दानीको स्रोत नै त्यही अरूको बारी हो । मल आए उत्पादन बढ्थ्यो कि भन्ने आसले आए ।’
छिमेकीले मल आएको जानकारी दिई पछि उनी भरतपुर ६ गीतानगर बजारमा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थामा आएकी थिइन् । तोरी, गहुँ, जौ र आलुखेती गरेकी उनलाई दुई बोरा मल चाहिने हो । उनीसँगै लाइनमा बोराले आकाशको पानी छेक्दै बसेका थिए भरतपुर–१२ कैलाशनगरका पुष्पाखर सापकोटा । सापकोटाले अरूको १० कट्ठासहित १५ कट्ठा जमिनमा तरकारी र जौ लगाएका छन् । उनले आफ्नो पाँचजनाको परिवारको गुजारा यही बारीबाट चलाएका छन् ।
२० बिघा जमिन भाडामा लिई वार्षिक ८० हजार तिरेर भरतपुर–६, पारसनगरका जीवशलाल राहुतले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । रौतहटबाट ०४६ सालमा यस ठाउँमा आएका उनी सर्वाेदय सहकारीको सदस्य पनि हुन् । दैनिक मलका लागि उनी यसै गरी सहकारी आउँछन् । उनले भने, ‘प्रत्येकपटक मल आउँदा लाइनमा बसेको हुन्छु १०–२० बोरा मल आवश्यक छ । १० केजी संकलन गरेर कहिले पुर्याउने ?’
बुधबार सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था (साझा)मा ३० बोरा युरिया मल आएको थियो । सहकारीका अध्यक्ष प्रेमराज कोइरालाले तरकारी खेतीका लागि भनेर मल आएको बताए । यस क्षेत्रमा दुई सयभन्दा बढी बोरा मल आवश्यक छ, तर थोरै मल आउँदा वितरणमा असहज भएको उनले सुनाए । उनका अनुसार नगरिकता हेरेर प्रतिकिसान १० किलोका दरले मल वितरण भइरहेको छ ।
धानखेतमा हाल्ने मलका लागि घन्टौँ लाइनमा बसेका चितवनका किसान गहुँ, जौ, राजमा, आलु, तोरीसहित तरकारी खेतीमा हाल्ने मल नपाएपछि पुनः लाइनमा बस्न बाध्य भएका छन् । जिल्लाभरि नै रासायनिक मल युरिया, डिएपी र पोटास अभाव भएको छ ।