स्वदेशी उत्पादनको बजार प्रवर्द्धन गर्न देशभरका स्थानीय तहमा ‘एक खरिद–बिक्री केन्द्र, एक अर्गानिक जोन’ (मौलिक भान्छाघर) र ‘एक योगा केन्द्र’ सञ्चालन गरिने भएको छ । स्वदेशी उत्पादन, स्वदेशी आयुर्वेदिक र खाद्यवस्तु बिक्री तथा योगा सञ्चालन गर्ने गरी वल्र्डमार्ट युनिट सोलुसन प्रालि एवं (मौलिक बजार) योगप्रेमी परिवार नेपाल र अर्गानिक जोन रेस्टुरेन्टबीच सम्झौता भएको हो ।
तीनवटै संस्थाले आफ्ना उत्पादन तथा सेवालाई देशभरका स्थानीय तहसँग समन्वय गरेर विस्तार गरिने मौलिक परिवारका सञ्चालक सुमन दाहालले बताए । देशभर एक स्थानीय तह एक खरिद–बिक्री केन्द्र, एक योग केन्द्र र एक अर्गानिक जोन (मौलिकबजार) सञ्चालन गर्दा स्थानीय उत्पादनले बजार पाउने बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले बताए ।
वर्ल्डमार्ट युनिक सोलुसनका सञ्चालक दाहालले तरकारी र फलफूल आयातमा बर्सेनि अर्बौँ रुपैयाँ बिदेसिने गरेको औँल्याउँदै स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न मौलिक बजारको परिकल्पना गरेको बताए ।