स्रोतबाट उपलब्ध गोप्य दस्ताबेज प्रकाशन गर्ने एक मानकीय पत्रकारिता अभ्यासको सम्भावित अपराधीकरणले संसारभरका प्रेस स्वतन्त्रताका पैरवीकर्तालाई चिन्तित बनाएको छ
जुलियन असान्जलाई बेलायती अदालतले अमेरिकासामु सुपुर्दगी नगर्ने भनी गरेको फैसलाविरुद्ध अमेरिकी सरकारले गरेको अपिलले जितेको छ । अर्थात्, विकिलिक्सका संस्थापक असान्जलाई अब अमेरिकामा जासुसी ऐनअन्तर्गत कानुनी सुनवाइका लागि सुपुर्दगी गरिने भएको छ । ११ डिसेम्बरको फैसलाले असान्जलाई अमेरिकामा ज्यानकै खतरा हुने भन्ने अदालतको पुरानो निचोडलाई उल्ट्याइदिएको छ । अदालतले गत जनवरीमा अमेरिकी हिरासतमा असान्जलाई राखिए आत्महत्या वा अन्य क्षतिको खतरा रहेको जनाएको थियो । यसपटक न्यायाधीशहरूले असान्जलाई निगरानीमा राखेर केही पनि क्षति नहुने वा यातना नदिने किसिमले सजाय दिने अमेरिकी आश्वासन मध्यनजर गर्दै असान्जलाई अमेरिकी सरकारको गोप्य दस्ताबेज खुलासा गरेको आरोपसँग सम्बन्धित मामिलामा अनुसन्धान गर्न अमेरिकासामु सुपुर्दगी गर्ने फैसला गरेको छ ।
असान्जले यो फैसलाविरुद्ध अझै पनि अपिल गर्न त सक्छन्, तर अदालती फैसलाले मुद्दाको सामना गर्न उनलाई थप जोखिम हुनेछ । असान्जकी प्रेमिका एवं मंगेतर स्टेला मोरिसले जारी गरेको एक विज्ञप्तिमा अदालतको फैसलालाई ‘खतरनाक र दिग्भ्रमित’ भनेकी छिन् र उनले अमेरिकाले दिएको आश्वासन विश्वसनीय नभएको पनि बताएकी छिन् । चिकित्सकहरूले अमेरिकी सरकारको लखेटाइबाट प्रताडित असान्ज गम्भीर उदासीनता (डिप्रेसन) लगायत अन्य मानसिक रोगबाट ग्रस्त भएको पुष्टि गरेका छन् र चिकित्सकहरू असान्जले आत्महत्या गर्ने गम्भीर जोखिम रहेको औँल्याउँछन् । अमेरिकी सरकारले असान्जलाई सहज हुने गरी उनकै मुलुक अस्ट्रेलियामै सजाय भोग्ने प्रबन्ध गर्न सक्ने बताएका छन्, यद्यपि यो आश्वासन अस्पष्ट र विश्वसनीय नभएको भनेर आलोचित छ ।
असान्जलाई बाइडेन प्रशासनले मुखबिर (ह्विसल ब्लोअर) चेल्सी म्यानिङलाई सन् २०१० र २०११ ताका विदेश मन्त्रालयका सूचना एवं अन्य गोप्य दस्ताबेज सार्वजनिक गर्न सहयोग गरेको आरोप जारी नै राखेको छ । खुलासा गरिएका गोप्य दस्ताबेजहरूमा विदेशी सत्ताका बारेमा अमेरिकी दृष्टिकोण प्रस्ट रूपमा खुलेका छन् र यी दस्ताबेजले ट्युनिसियालगायत मुलुकमा गम्भीर अस्थिरतासमेत निम्त्याएको थियो, अर्थात् ट्युनिसियालगायत अरब जगत्को क्रान्तिलाई विकिलिक्सको दस्ताबेजमा खुलासा गरिएका भ्रष्टाचारका आन्तरिक मामिलाले सघाएको थियो । विकिलिक्सले अमेरिकी सेनाले इराकमा गरेका आमहत्याको प्रमाणलाई बाहिर ल्याइदिएको थियो, जसमा सन् २००७ मा अमेरिकी सेनाले अपाचे सैन्य हेलिकोप्टरबाट रिउटर्सका दुई पत्रकार एवं अन्य सर्वसाधारणको हत्या गरेको भिडियो फुटेज पनि रहेको छ ।
विकिलिक्सको खुलासापछिका केही वर्षपछि डोनाल्ड ट्रम्पको तथाकथित सहयोगी बनेको आरोप अर्थात् विकिलिक्स खुलासाले सन् २०१६ मा ट्रम्पको जित भएको भन्ने आरोपका कारण असान्ज अमेरिकी घरेलु राजनीतिको विवादास्पद छवियुक्त व्यक्ति बन्न पुगेका थिए । तर, उनले अहिले खेपिरहेको जासुसी मुद्दा चेल्सी म्यानिङले गोप्य दस्ताबेज खुलासा गरेदेखि नै सुरु भएको हो । स्मरण रहोस्, सो खुलासाले विश्वभरका पत्रकार एवं अभियन्तालाई ठूलो, विश्वसनीय एवं घनीभूत सूचनाको स्रोत उपलब्ध गराएको थियो । कुनै स्रोतबाट उपलब्ध गोप्य दस्ताबेज प्रकाशन गर्ने एक मानकीय पत्रकारिता अभ्यासको सम्भावित अपराधीकरणले संसारभरका प्रेस स्वतन्त्रताका पैरवीकर्तालाई चिन्तित बनाएको छ ।
‘अमेरिकी अभियोजनकर्ताहरूले सुपुर्दगी गराउने नतिजाका लागि निरन्तर दबाब दिनु भनेको पत्रकारिताका सिद्धान्तमा ठूलो कुठाराघात गर्नु हो । यो कुठाराघातमाथि बाइडेन प्रशासनले उत्सव मनाइरहेको छ,’ गत ११ डिसेम्बरमा आएको फैसलाको भत्र्सना गर्दै फ्रिडम अफ द प्रेस फाउन्डेसनका कार्यकारी निर्देशक ट्रेभर टिमले एक विज्ञप्ति जारी गरेका थिए । ‘फैसलाले बहादुर मुखबिरहरूले दशकौँदेखि व्याख्या गर्दै आएझैँ स्रोतहरू र हाल पत्रकार एवं प्रकाशकविरुद्ध जासुसी ऐनको दुरुपयोगले न्यायका आधारभूत आदर्शहरू र वाक्स्वतन्त्रता समाविष्ट अमेरिकी संविधानको पहिलो संशोधन (फस्र्ट एमेन्डमेन्ट) का मूल्यहरूको अपमान गरेको छ,’ ट्रेभर थप्छन् ।
जुलियन असान्जमाथि लगाइएको अभियोगले पत्रकारितामाथि हुने सम्भावित परिणाम र असरबारे ट्रम्प प्रशासनलाई विस्थापन गरेर उदाएको बाइडेन प्रशासनलाई समेत कुनै चिन्ता वा चासो भएको देखिँदैन । जुलियन असान्जको नियति अनिश्चित छ, तर उनका समर्थकहरू जसमध्ये धेरैले फैसलापछि अदालतबाहिर विरोधसमेत गरेका थिए, ती समर्थकले अदालती निर्णयविरुद्ध अपिल गर्ने संकेत दिइसकेका छन् । यद्यपि बाइडेन प्रशासन असान्जमाथिको प्रताडनालाई निरन्तरता दिन उद्यत नै रहेको छ, जुन करिब एक दशकदेखि चल्दै आएको छ ।
‘असान्जको जीवन एकपटक फेरि गम्भीर खतरामा परेको छ र ठीक त्यसैगरी सरकार एवं कर्पोरेटहरूलाई असहज वा असुविधाजनक लाग्ने सामग्री प्रकाशित गर्ने पत्रकारहरूको अधिकार पनि कुण्ठित हुँदै छ,’ विकिलिक्सका प्रधान सम्पादक क्रिस्टिन रेफन्सन टिप्पणी गर्छन् । असान्जलाई प्रदान गरिने न्याय ‘बलिया शक्ति राष्ट्रहरूको धम्कीबाट प्रभावित नभई प्रकाशन गर्ने प्रेस स्वतन्त्रताका खातिर पनि हो,’ रेफन्सन जोड दिन्छन् । द इन्टरसेप्टबाट