पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीले बिहीबार प्लेन चढ्दै गरेको फोटो पोस्ट गरेर लेखिन्, ‘दुई गते दाङको तुलसीपुर महोत्सवमा सबैलाई निम्ता छ, सबैजना आउनुहोला है, रमाइलो गर्नुपर्छ ।’ तुलसीपुर चेम्बर अफ कमर्सले बिहीबारदेखि आयोजना गरेको महोत्सवमा सांगीतिक प्रस्तुतिका लागि उनी तुलसीपुर पुगेकी हुन् । पुस १२ गतेसम्म चल्ने महोत्सवमा दुई दर्जनभन्दा बढी कलाकार पुग्दै छन् ।
शुक्रबारदेखि चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७८ सुरु भएको छ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सयभन्दा बढी स्टलहरू रहेको आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । यस्तै, विगतमा जोर–बिजोर वर्षमा हुने गरेका जिल्लाकै दुई ठूला चितवन महोत्सव र रत्ननगर महोत्सव यस वर्ष एकैपटक हुँदै छन् । चितवन उद्योग वाणिज्य संघले पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव र रत्ननगर उद्योग वाणिज्य संघले पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव गर्न लागेका हुन् । आयोजकले दुवै मेलाको संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी दिए । चितवन महोत्सव नारायणी नदी–किनारमा र रत्ननगर महोत्सव टिकौली चौरमा हुँदै छ ।
पहिले भइरहेको मेलालाई निरन्तरता मात्र होइन, नयाँ मेलासमेत आयोजना हुन थालेका छन् । स्याङ्जाको एलादीमा मंसिर २४ गतेदेखि २८ गतेसम्म ‘प्रथम एलादी महोत्सव–२०७८’ सम्पन्न भयो । स्थानीय संगम युवा क्लबले आयोजना गरेको महोत्सव सफलतापूर्वक सम्पन्न भएको स्थानीय बासिन्दा एवं लोकदोहोरी गायक घनश्याम रिजालले बताए । पोखराको चापाकोट देउरालीमा पनि बिहीबारदेखि पाँचदिने चापाकोट सांस्कृतिक महोत्सव सुरु भएको छ ।
रेबान पोखराको आयोजनामा २३औँ संस्करणको पोखरा सडक महोत्सव–२०७८ पुस १५ गतेदेखि पोखरामा आयोजना हुँदै छ । पोखरा खुल्दै छ भन्ने सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव गर्न लागेको आयोजक रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । अंग्रेजी नयाँ वर्षकै अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा पनि फुड फेस्टिबल आयोजना हुँदै छ । ‘लुम्बिनीमा जाऔँ, लुम्बिनीमा खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने नारासहित होटेल एसोसिएसन लुम्बिनीले दुईदिने फुड फेस्टिबल आयोजना गर्न लागेको हो ।
कोभिड महामारीका कारण करिब दुई वर्षदेखि रोकिएका मेला–महोत्सव पुनः सुरु हुन थालेका छन् । पुस लाग्नेबित्तिकै मेला–महोत्सवको सिजन सुरु हुन्छ । देशका धेरै ठाउँहरूमा १ पुसदेखि नै मेला–महोत्सव सुरु भइसकेका छन् भने कतिपय ठाउँमा तयारी भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय व्यापार मेला यो वर्ष गर्ने तयारी भइरहेको छ । महासंघको व्यापार मेला समितिका सभापति नरेन्द्रकुमार खड्काले सरकारसँग स्वीकृति लिएर मेला आयोजना गर्ने बताए । अहिले पनि गृह मन्त्रालयले भिडभाड हुने मेला–महोत्सव र सभा–सम्मेलन गर्न औपचारिक रूपमा खुला गरेको छैन । तर, जिल्लामा स्थानीय जिल्ला प्रशासनबाट स्वीकृति लिएर मेला–महोत्सव सुरु हुन थालेका छन् । ‘अझै पनि गृहले मेला–महोत्सव गर्न औपचारिक स्वीकृति दिइसकेको छैन, हामीले सरकारसँग परामर्श गरेर अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने तयारीमा छौँ,’ उनी भन्छन्, ‘पछिल्लो समय ओमिक्रोन भेरियन्टको पनि त्रास बढ्न थालेको छ, अवस्था हेरेर अन्तर्राष्ट्रिय व्यापार मेला गर्छौँ ।’
मुलुकमा बिस्तारै कोभिडको त्रास घट्दै गएपछि देशभरि मेला–महोत्सवका गतिविधि बढ्न थालेको सभापति खड्काले बताए । लेखनाथ उद्योग वाणिज्य महासंघले १७औँ संस्करणको लेखनाथ महोत्सव माघ १३ गतेदेखि २४ गतेसम्म आयोजना गर्दैै छ । यो देशकै ठूलामध्येमा पर्ने महोत्सव हो । युनाइटेड क्लब पोखराले पुस २८ गतेदेखि ९ माघसम्म पोखरा महोत्सव आयोजना गर्दै छ । पोखराकै फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुँदै छ । महोत्सवमा २० राष्ट्रका दुई सयभन्दा बढी चलचित्र, कला, साहित्य, संगीत क्षेत्रका हस्तीहरू सहभागी हुने आयोजकको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड, पोखराका प्रमुख काशीराज भण्डारीका अनुसार पुसको ५ गतेदेखि ९ गतेसम्म तनहुँको विमलनगरमा अन्तर्राष्ट्रिय रक क्लाइम्बिङ फेस्टिबल हुँदै छ । पर्यटन बोर्ड आफैँले पनि जनवरीदेखि हरेक प्रदेशमा एक–एक ट्राभल मार्ट आयोजना गर्न लागेको उनले सुनाए । ‘अहिले आन्तरिक पर्यटकको मुभमेन्ट पनि ह्वात्तै बढेको छ, मेला–महोत्सवको पनि लहर चल्न थालेको छ,’ उनले भने, ‘यदि ओमिक्रोन फैलिएन भने मेला–महोत्सवको बहार आउनेवाला छ ।’पछिल्ला वर्षमा देशैभरि ठूला–साना मेला–महोत्सव सञ्चालन गर्ने लहर नै आएको थियो । सरकार, उद्योग वाणिज्य संघहरू, स्थानीय क्लब, समुदाय, पर्यटन क्षेत्रका संस्थालगायतले देशभरि मेला–महोत्सव आयोजना गर्न थालेका थिए । तर, ०७६ को फागुनदेखि मुलुकमा कोभिड फैलिन थालेपछि कुनै उल्लेख्य मेला–महोत्सव आयोजना भएनन् ।
मेला–महोत्सवका फाइदा
मेला–महोत्सवले स्थानीय पर्यटकीय तथा आर्थिक गतिविधि चलायमान बनाउने आयोजकहरूको दाबी छ । मेलामा स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्रीमा राखिएको हुन्छ । बजार नपाएका स्थानीय मौलिक उत्पादन र परिकारहरूले बजार पाउँछन् । सांस्कृतिक झाँकीहरू प्रस्तुत हुने हुँदा स्थानीय संस्कृतिको प्रचार–प्रसार हुन्छ । साथै, ठाउँ–ठाउँबाट मेला–महोत्सवमा ठूलो जमात आउने हुँदा व्यापार पनि राम्रै हुने गर्छ ।
मेला–महोत्सवले स्वदेशी उत्पादनलाई बजारमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने खड्काले बताए । नेपालमा आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय व्यापार मेला तथा महोत्सव पनि हुने गर्छन् । यस्ता महोत्सवमा विदेशी उत्पादन र उद्यमीहरू पनि सहभागी हुन्छन् । महासंघले आयोजना गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलाले एउटै छानामुनि क्रेता र विक्रेतालाई जमघट गराउने काम गर्छ । मेलामा बिटुबी मिटिङ पनि हुन्छन् । आफ्ना वस्तु तथा सेवाहरूका बारेमा विदेशी सहभागीलाई जानकारी गराउने मौका मिल्छ । विदेशमा विकास भएका आधुनिक प्रविधिको हस्तान्तरणका लागि पनि मेलाहरू निकै लाभदायक हुने गरेका छन् ।
मेला–महोत्सवमा ठूलो कारोबार पनि हुने गर्छ । मेला आयोजकहरूले करोडौँ रुपैयाँको कारोबार भएको दाबी गर्ने गरेका छन् । काठमाडौंमा हुने नाडा अटो सो सबैभन्दा बढी कारोबार गर्ने मेला मानिएको छ । तर, कोभिड संक्रमणपछि दुई वर्षदेखि यो मेला हुन सकेको छैन । क्यान इन्फोटेक, अन्तर्राष्ट्रिय व्यापार मेलामा पनि ठूलो कारोबार हुने गर्छ ।
महाधिवेशनले पनि अर्थतन्त्र भाइब्रेन्ट
नेकपा एमालेले आफ्नो महाधिवेशन चितवनको सौराहामा आयोजना गरेपछि कोभिडपछि सुस्ताएका होटेल व्यवसाय गुल्जार भए । कोभिडपछि सुस्ताएका सौराहा, रत्ननगर, टाँडी र नारायणगढका होटेलहरू चार–पाँच दिनसम्म भरिए ।
कोभिडपछि काठमाडौंबाहिरका होटेल आन्तरिक पर्यटकले भरिन थाल्दा पनि काठमाडौंका होटेलहरू खाली थिए । नेपाली कांग्रेसले आफ्नो महाधिवेशन काठमाडौंमा आयोजना गरेपछि गौशाला, बसपार्क, सुन्धारा, ठमेललगायत ठाउँका होटेलहरू भरिभराउ भए । पार्टीले संस्थागत रूपमा महाधिवेशन प्रतिनिधिका लागि चार हजार दुई सयभन्दा बढी बेडहरू बुकिङ गरेको थियो । तर, महाधिवेशनमा विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता, शुभचिन्तक आउँदा काठमाडौंका तारे होटेलले पनि ग्राहक पाए ।
महाधिवेशनमा होटेलका कोठाहरू भरिने मात्र होइन, रेस्टुरेन्ट पनि गुल्जार बनेका थिए । मदिरा, माछामासु र खानाको व्यापार पनि राम्रै भयो । कांग्रेसको महाधिवेशनमा होटेल र रेस्टुरेन्टले राम्रै व्यापार गरेको होटेल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । अझै पनि निर्वाचनको पूरै परिणाम आइनसकेको हुँदा जिल्लाबाट आएका नेता–कार्यकर्ता अझै काठमाडौंका होटेलमै बसिरहेका छन् ।
अबको केही समयमा देशका तीनै तहको निर्वाचन गर्नुपर्नेछ । महाधिवेशन सकेर पार्टीहरू अब चुनावकेन्द्रित गतिविधिमा सक्रिय हुनेछन् । अब काठमाडौंसहित जिल्ला–जिल्लामा विभिन्न दलका सभा–सम्मेलन र चुनावी क्याम्पियन चल्नेछन् । यसले अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो मद्दत पुग्ने विज्ञ बताउँछन् । तीन तहको चुनावमा पार्टी र उम्मेदवारहरूले ठूलै मात्रामा रकम खर्च गर्ने हुँदा एकैपटक ठूलो रकम बजारमा आउँछ । होटेल, रेस्टुरेन्ट, माछामासु, मदिरामा ठूलो धनराशि खर्च हुन्छ ।
सुरक्षाचेत र संक्रमणको चिन्ता
विश्वव्यापी रूपमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले समेत यो भेरियन्ट विश्वका सबै देशमा पुगिसकेको भनेर चिन्ता जनाएको छ । नेपाल पनि यसबाट अछुतो छैन । तर, सुरु–सुरुमा कोभिडबाट धेरै नै डराएका वा विशेष सतर्कता अपनाएका मानिसहरू अहिले भने लापरबाही गर्न थालेका छन्।
सहर–बजार वा दलहरूको महाधिवेशनदेखि विभिन्न भोजहरूमा समेत ठेलमठेल गरेर बसेका मानिसहरू यस्ता मेला–महोत्सवमा सामाजिक दूरी कायम गर्ने, हात धुने, मास्क राम्रौसँग लगाउने, स्यानिटाइजर प्रयोग गर्नेजस्ता काममा सचेत हुन्छन् भनेर विश्वास गर्ने आधार छैन ।
यस्ता महोत्सवबाट संक्रमण फैलिएमा कन्ट्याक्ट ट्रेसिङसमेत गर्न नसकिने हुनाले संक्रमण ठूलो क्षेत्र वा समुदायमा फैलिने सम्भावना धेरै छ । त्यसैले मेला–महोत्सवका विभिन्न फाइदा केलाएर आयोजना गर्न कस्सिएका आयोजकहरूले यो विषयमा पनि ध्यान पुर्याउनुपर्ने विज्ञहरूको भनाइ छ ।