माथिल्लो स्याङ्गेको विद्युत् राष्ट्रिय लाइनमा जोडिने

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा निर्माण सम्पन्न भएको २ दशमलव ४ मेगावाटको माथिल्लो स्याङ्गे खोलाको विद्युत् पुस पहिलो साताबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । 

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले निर्माण सुरु गरेको चार वर्षमा सम्पन्न भएको आयोजनाबाट पुस पहिलो साताबाट विद्युत् उत्पादन सुरु हुन लागेको हो । ०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल संरचना तथा जडान भएका उपकरणको परीक्षण सकिएको आयोजनाका इन्जिनियर जीवन केसीले जानकारी दिए । उनका अनुसार आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सफल भएको छ ।

उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले उत्पादन परीक्षण सुरु गरेपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।’ आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ । 

सुझावित समाचार