बिसिसिआईले अल्टिमेटम दिएर कोहलीलाई कप्तानीबाट हटायो

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले विराट कोहलीलाई अल्टिमेटम दिएर एकदिवसीय टोलीको कप्तानी जिम्मेवारीबाट हटाएको छ । बिसिसिआईले उनको स्थानमा रोहित शर्मालाई कप्तान बनाएको भारतीय एजेन्सीहरूले जनाएका छन् । गत महिना युएई र ओमानमा सम्पन्न आइसिसी टी–२० विश्वकपमा कोहलीले टी–२० को कप्तान छाडेका थिए । 

तर, उनले एकदिवसीय र टेस्ट टोलीका कप्तानीको जिम्मेवारी यथावत् नै रहेको जनाएका थिए । बिसिसिआईले भारतीय टोली दक्षिण अफ्रिकाको भ्रमणमा निस्कनुअघि कोहलीलाई २४ घन्टाभित्र कप्तानी छाड्न अल्टिमेटम दियो । कोहली कप्तानी छाड्न तयार थिएनन् । कोहलीले राजीनामा नदिएपछि कोहलीलाई बर्खास्त गर्ने निर्णय छनोटकर्ताले गरेका थिए । 

यता कोहलीबाट केही जवाफ नआउँदा बोर्डले रोहितलाई नै दक्षिण अफ्रिकामा निस्कने भारतीय टोलीको कप्तान बनायो । रोहितले डिसेम्बर २०१७ देखि अहिलेसम्म १० एकदिवसीय खेलमा कप्तानी गरेका छन् । उनको कप्तानीमा भारतले आठ खेलमा जित र दुई खेलमा हारको सामना गरेको छ । बिसिसिआईले रोहितलाई सन् २०२३ मा भारतमै हुने एकदिवसीय क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी कप्तानीको जिम्मेवारी दिएको हो ।

महेन्द्र सिंह धोनीले कप्तानी छाडेपछि कोहलीले पाँच वर्ष भारतीय टोलीको कप्तानी सम्हालेका थिए । कोहलीले भारतका लागि ९५ एकदिवसीय खेलमा ६५ खेल जिताएका छन् । उनले ४५ टी–२० खेलमध्ये २७ खेलमा भारतलाई सफलता दिलाएका थिए । बिसिसिआईका अध्यक्ष तथा भारतका पूर्वकप्तानसमेत रहेका सौरभ गांगुलीले बोर्ड तथा छनोटकर्ताहरूको निर्णयमै कोहलीलाई पदबाट हटाएको प्रतिक्रिया दिएका छन् । 

‘यो निर्णय एकल होइन, यसमा बोर्ड तथा छनोटकर्ताहरूकै सहमतिमै निर्णय भएको हो,’ बिसिसिआईका अध्यक्ष गांगुलीले भने, ‘हामीले कोहलीलाई टी–२० को कप्तानी नछाड्न आग्रह गरेका थियौँ, तर उनी त्यसवेला मानेनन् ।’ कोहलीलाई टेस्ट टोलीको कप्तानीबाट नहटाइएको जानकारी गांगुलीले दिएका छन् । 

सुझावित समाचार