दक्षिण अफ्रिकामा पुष्टि हुनुभन्दा पाँच दिनअघि नै नेपाल आएका थिए ओमिक्रोन संक्रमित

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

- संसारलाई त्रसित बनाइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गत ८ मंसिरमा पहिलोपटक दक्षिण अफ्रिकी मुलुक वत्सवानामा पुष्टि भएको थियो । तर, त्यसको पाँच दिनअघि अफ्रिका हुँदै नेपाल आएका दुईजनामा एक सातापछि संक्रमण देखियो । अहिले आइसोलेसनमा रहेका उनीहरूको सम्पर्कमा आएका ६६ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

- १३ दिनमै ४० भन्दा बढी देशमा पुग्यो ओमिक्रोन, तर गम्भीर बिरामी छैनन्

अहिले संसारलाई नै त्रसित बनाइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गत २४ नोभेम्बर अर्थात् ८ मंसिरमा पहिलोपटक दक्षिण अफ्रिकी मुलुक वत्सवानामा देखिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले त्यसको पुष्टि गरेको थियो । तर, त्यसको पाँच दिनअघि नै अर्थात् ३ मंसिरमै ओमिक्रोन संक्रमित नेपाल आइपुगेका थिए । स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन त्यतिखेर नेपाल आएका दुई जनामा ओमिक्रोन पुष्टि भएको जानकारी गराएको छ । 

६६ वर्षीय विदेशी नागरिक र उनीसँग नजिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको अन्य विवरण भने सार्वजनिक गरेको छैन । ७१ वर्षीय व्यक्ति नेपाली भएको अनुमान अधिकारीहरूको छ । उनीहरू नेपाल आएको सोमबार १७ दिन पुगिसकेको छ ।

नेगेटिभ रिपोर्टसहित काठमाडौं उत्रिएको चार दिनपछि ७ मंसिरमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनीहरू पिसिआर परीक्षणका लागि एक निजी प्रयोगशाला पुगेका थिए । रिपोर्ट पजिटिभ आएको थियो । अफ्रिकाबाट आएकाले पनि शंकास्पद सूचीमा परेका उनीहरूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एस–जिन सिक्वेन्सिङ गरियो । आइतबार आएको रिपोर्टमा उनीहरूमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले बताए । 

उनीहरू नेपाल आएपछिको चार दिनसम्मको ट्राभल हिस्ट्रीबारे भने जानकारी छैन । संक्रमितको ट्राभल हिस्ट्री जानकारी नभएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । यो अवस्थामा उनीहरूबाट अन्य कतिमा संक्रमण फैलियो भन्ने निश्चित छैन । 

स्रोतका अनुसार उनीहरूसँगै जहाजमा आएकालगायत कन्ट्याक्ट ट्रेसिङमा परेका ६६ जनाको पिसिआर परीक्षण भने नेगेटिभ भएको छ । त्यस्तै, शंकास्पद अन्य नौजनाको जिन सिक्वेन्सिङ पनि नेगेटिभ आएको छ । ओमिक्रोनकै आशंकामा थप केही व्यक्तिको पनि जिन सिक्वेन्सिङ परीक्षणको तयारी भइरहेको एक अधिकारीले बताए । हाल दुवै संक्रमित सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा छन् । स्वास्थ्यकर्मीको निगरानीमा रहेका उनीहरूमा कुनै लक्षण नदेखिएको पनि मन्त्रालयले जनाएको छ । 

१३ दिनमै ४० भन्दा बढी देशमा पुग्यो ओमिक्रोन, तर गम्भीर बिरामी छैनन्
वत्सवानामा पुष्टि भएको १३ दिनमै ओमिक्रोन भेरियन्ट नेपालसहित विश्वका ४० देशमा पुगिसकेको छ । अफ्रिका, युरोप, अमेरिका र एसियाली देशहरूमा फैलिएको हो । दक्षिण एसियामा नेपालअघि नै भारत र श्रीलंकामा पुष्टि भएको हो । भारतमा संक्रमण बढिरहेको छ । त्यहाँ सोमबारसम्म २३ जनामा संक्रमण पुष्टि भएको छ । 

डब्लुएचओका अनुसार संक्रमितको संख्या बढ्दै गए पनि गम्भीर बिरामीको संख्या खासै छैन । अधिकांश संक्रमितमा लक्षण नै देखिएको छैन भने केहीमा सामान्य खोकी र केहीमा ज्वरो देखिएको छ । कतिपयलाई स्वाद र गन्ध हराउने लक्षण पनि देखिएको रिपोर्टहरू आएका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी बताउँछन् । 

डेढ महिनामै फेरिए सिसिएमसिसी संयोजक, प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको बैठक नै बसेन
सरकारले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसिसी)लाई अस्थिर बनाएको छ । गत दसैँअघि सिसिएमसी पुनर्गठन गरेर सिसिएमसिसी बनाएको सरकारले डेढ महिनामै दुईजना संयोजक फेरिसकेको छ । नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा सिसिएमसिसी गठन गरिएको थियो । तर, १३ मंसिरमा १० सचिवको सरुवा गर्दा उनलाई पर्यटन मन्त्रालयमा पठाएपछि सिसिएमसिसी नेतृत्वविहीन बनेको थियो । 

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएकै दिन सोमबार सचिव रामप्रसाद थपलियाले सिसिएमसिसी संयोजकको जिम्मेवारी पाएका छन् । उनी १३ मंसिरमा शिक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयको प्रादेशिक समन्वय र सामाजिक विकास महाशाखामा सरुवा भएका थिए । ‘सिसिएमसिसीको जिम्मेवारी पाएको छु, मंगलबारबाट कार्यभार सम्हाल्छु,’ उनले भने, ‘कोरोना नियन्त्रणमा सिसिएमसिसीले चाल्ने कदमबारे त्यसपछि निर्णय हुन्छ ।’

ओमिक्रोन पत्ता लगाउन झन्झटिलो परीक्षण : डा. रुना झा निर्देशन, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

देशभित्र टेकु प्रयोगशालामा मात्रै केही नमुना परीक्षण भइरहेको छ । केही विदेश पठाउने गरिएको छ । जिन सिक्वेन्सिङका लागि चारदेखि पाँच दिनसम्म लाग्छ । त्यसैले, नमुना छानेर मात्रै सिक्वेन्सिङ गराउँछौँ ।

पिसिआर परीक्षणबाट मात्रै ओमिक्रोन पत्ता लगाउन सकिँदैन । कोरोना पजिटिभ पुष्टि भएपछि ओमिक्रोन भेरियन्ट हो वा होइन निश्चित गर्न एस–जिन सिक्वेन्सिङ गर्नुपर्छ । तर, जिन सिक्वेन्सिङ महँगो र परीक्षणमा समय लाग्ने भएकाले नेपालका अधिकांश ल्याबमा जिन सिक्वेन्सिङ सुविधा छैन । देशभित्र टेकु ल्याबमा मात्रै शंकास्पद केही मात्र व्यक्तिको ढिला गरी जिन सिक्वेन्सिङ भइरहेको छ । प्रयोगशालाकी निर्देशक डा. रुना झा भन्छिन्, ‘देशभित्र टेकु प्रयोगशालामा मात्रै केही नमुना परीक्षण भइरहेको छ । केही विदेश पठाउने गरिएको छ ।

जिन सिक्वेन्सिङका लागि चारदेखि पाँच दिनसम्म लाग्छ । त्यसैले, नमुना छानेर मात्रै सिक्वेन्सिङ गराउँछौँ ।’ उनका अनुसार टेकुमा अहिलेसम्म ११ नमुनाको मात्रै जिन सिक्वेन्सिङ भएको र एक–डेढ हप्तामा अर्को चरणको परीक्षण गर्ने तयारी छ । मन्त्रालयले एक चरणमा २० वटासम्म नमुनाको जिन सिक्वेन्सिङ गर्न सकिने जनाएको छ ।

अहिलेसम्म घातक नदेखिएकाले आत्तिनुपर्ने अवस्था छैन : डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ
ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक भए पनि हालसम्म घातक नदेखिएकाले आत्तिनुपर्ने अवस्था छैन । यो भेरियन्टबाट संक्रमित भएर कोही पनि गम्भीर बनेका छैनन् । तर, सचेत भने हुनुपर्छ । संक्रमणबाट जोगिन नियमित स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । मास्क लगाउने, अनावश्यक भिडभाड नगर्ने, स्यानिटाइज अर्थात् हात धुनेजस्ता व्यवहार नियमित राख्न आवश्यक छ ।

खोप लगाउन सरकारले नै आग्रह गरिरहेको छ । ओमिक्रोन भेरियन्टमा ‘स्पाइक’ प्रोटिन अत्यधिक उत्परिवर्तन भएकाले खोप लगाउनु प्रभावकारी हुन्छ । हाल प्रयोगमा आइरहेका अधिकांश खोप ‘स्पाइक’ प्रोटिनलाई नै लक्षित गरी बनाइएका छन् । सरकारले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनुपर्छ । 

फितलो छ सरकारको तयारी

ओमिक्रोन भेरियन्ट रोक्न सरकारको कदम फितलो देखिन्छ । प्रभावित देशहरूबाट आएका व्यक्तिको ट्राभल हिस्ट्री नै सरकारसँग छैन । लापरबाही कतिसम्म भने डब्लुएचओले समेत क्वारेन्टिन बस्न अनुरोध गरेका वेला अफ्रिका गएर आएका सरकारी कर्मचारी नै विमानस्थलबाटै भागेर घर गएका थिए । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना (एनआइआरटिटिपी)को कार्यक्रम सकेर १२ मंसिरमा अफ्रिकी मुलुक तान्जानियाबाट स्वदेश फर्किएका आठमध्ये ६ जना होटेल क्वारेन्टिन छलेर घर गएका थिए ।

उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मी, सहसचिव प्रकाश दाहाल, उपसचिव श्रीधर गौतम, लेखा उपसचिव पार्वती शर्मा, शाखा अधिकृत नवराज पराजुली र प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत उपसचिव यम तिवारी घर गएका हुन् । भन्सार विभागका निर्देशक सुरेश सेढाईं र अर्थ मन्त्रालयका उपसचिव खिम कुँवर भने होटेल क्वारेन्टिनमा छन् । 

सुझावित समाचार