तीन अर्ब लगानीका तीन अटो एसेम्बल उद्योग खुल्दै

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण
तीन अर्ब लगानीका तीन अटो एसेम्बल उद्योग खुल्दै

पर्सामा टिभिएस कम्पनीले उत्पादन गरेका तीनपांग्रे अटो रिक्सा । फाइल तस्बिर

सिजीले एक अर्ब ३१ करोड ६९ लाख लगानी गरेर वार्षिक १० हजार दुईपांग्रे, तीन हजार तीनपांग्रे र १० हजार चारपांग्रे गाडी एसेम्बल गर्ने, एमएडब्लू इन्टरप्राइजेजद्वारा डेढ अर्ब लगानीबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर एसेम्बल गर्ने

सरकारले स्वदेशमा सवारीसाधन एसेम्बल गर्न उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएपछि धमाधम एसेम्बल उद्योगहरू दर्ता हुन थालेका छन् । चालू आर्थिक वर्षमै उद्योग विभागमा तीनवटा एसेम्बल उद्योग दर्ता भएका हुन् । पूर्णतया स्वदेशी लगानीमा सञ्चालन हुने यी उद्योगहरूमा तीन अर्ब सात करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ ।

नेपालका लागि मारुती सुजुकीको आधिकारिक विक्रेता सिजी होल्डिङ्सले दुई, तीन र चारपांग्रे सवारीसाधन एसेम्बल गर्ने गरी १० साउनमा सिजी अटोमोटिभ इन्डस्ट्री प्रालि उद्योग दर्ता गरेको छ । यस्तै, एमएडब्लू इन्टरप्राइजेजले यामाहा मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न १० असोजमा एमएडब्लू अटो उद्योग दर्ता गरेको छ । यस्तै, ३० कात्तिकमा विद्युतीय स्कुटर एसेम्बल गर्न इ. बोल्ट मोबिलिटी उद्योग दर्ता भएको विभागले जनाएको छ । 

सिजी होल्डिङ्सले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ मा एसेम्बल उद्योग स्थापना गर्ने भएको छ । सिजीले एसेम्बल उद्योगमा एक अर्ब ३१ करोड ६९ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । यो उद्योगले वार्षिक १० हजार दुईपांग्रे, तीनपांग्रे तीन हजार र चारपांग्रे गाडी १० हजार थान एसेम्बल गर्न प्रस्ताव गरेको छ । सिजी होल्डिङ्सले देशभित्रै मारुती सुजुकी गाडी एसेम्बल गर्नका लागि उद्योग दर्ता गरेको हो । पूर्णतया स्वदेशी लगानी रहने यस उद्योगमा एक सय १३ जनाले रोजगारी पाउनेछन् । यो उद्योग सञ्चालनका लागि २५ सय केभिए ऊर्जा चाहिने प्रस्ताव गरिएको छ ।

एमएडब्लू इन्टरप्राइजेजले मोरङको टंकिसिनबारीमा उद्योग स्थापना गरेर यामाहा ब्रान्डको मोटरसाइकल र स्कुटर एसेम्बल गर्ने भएको छ । यो उद्योगमा एक अर्ब ५१ करोड ५० लाख रुपैयाँ लगानी गर्ने उद्योग विभागमा प्रस्ताव गरिएको छ । यो उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार थान स्कुटर एसेम्बल गर्ने लक्ष्य राखिएको छ । पूर्णतया स्वदेशी लगानी रहने यस उद्योगबाट एक सय ४४ जनाले रोजगारी पाउने उल्लेख छ ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं. ९ मा स्थापना हुने इ. बोल्ड मोबिलिटी प्रालिले विद्युतीय स्कुटर एसेम्बल गर्नका लागि २४ करोड ३० लाख रुपैयाँ लगानी गर्ने विभागमा प्रस्ताव गरेको छ । यो उद्योगबाट वार्षिक १५ हजार युनिट विद्युतीय स्कुटर एसेम्बल गर्ने लक्ष्य राखिएको छ । पूर्णयता स्वदेशी लगानी हुने यस उद्योगबाट एक सयजनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । 

यसअघि नै बजाज र टिभिएसका मोटरसाइकल तथा स्कुटर स्वदेशमै एसेम्बल सुरु भइसकेको छ । व्यावसायिक घरानाद्वय गोल्छा समूहले बजाज मोटरसाइकलको नवलपरासीमा र शंकर समूहले टिभिएस मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न बारामा उद्योग स्थापना गरेका छन् । बजाज र टिभिएस दुवै कम्पनीले तीनपांग्रे अटोरिक्सा पनि देशभित्रै एसेम्बल गर्दै आइरहेका छन् । दुवै उद्योगमा एक अर्बभन्दा बढी लगानी भइसकेको बताइएको छ ।

हुलास मोटर्स र टेर्रा मोटर्सले पनि चीनबाट विद्युतीय रिक्साका पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गर्दै आइरहेका छन् । ज्योति समूहले होन्डा मोटरसाइकल एसेम्बल उद्योग खोल्न तयारी गरिरहेको छ । हुन्डाई गाडीको नेपाली विक्रेता लक्ष्मी समूहले पनि देशभित्रै गाडी एसेम्बल गर्न उद्योग दर्ता गरेको छ । यस्तै, कोरियन मोट्रेक्स कम्पनीले नेपालमा सवारीसाधन एसेम्बल उद्योग स्थापना गर्न १० अर्ब रुपैयाँ लगानी स्वीकृतिका लागि लगानी बोर्डमा प्रस्ताव गरेको छ ।

यसअघि नै उद्योग विभागमा तीनपांग्रे उत्पादनका लागि भनेर बेन्लिङ मोटर टेक्नोलोजी प्रालि (काठमाडौं), ग्रेटवाल इलेक्ट्रिक भेहिकल (चितवन), मिथिला अटोक्राफ्ट (धनुषा), बेला इलेक्ट्रोनिक्स अटो प्रालि (ललितपुर), हिरोइन अटो इलेक्ट्रिकल इन्डस्ट्रिज (कञ्चनपुर), सिइसी भेहिकल्स प्रालि (ललितपुर), नेपाल इभी कम्पनी प्रालि (ललितपुर), नेझोङ इन्डस्ट्री प्रालि (मकवानपुर), ही होङ न्यू इनर्जी (ललितपुर), नेपाल इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरिङ प्रालि (ललितपुर) र फेयर अटो इन्डस्ट्रिज प्रालि (बारा) दर्ता भइसकेका छन् ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रतिस्थापन विधेयकमार्फत देशभित्र एसेम्बल उद्योग स्थापना गर्न प्रोत्साहन गरेपछि धमाधम मोटरसाइकल विक्रेता कम्पनीहरू एसेम्बल प्लान्ट स्थापना गर्न कस्सिएका हुन् । प्रतिस्थापन विधेयकमा स्वदेशमै दुईपांग्रे एसेम्बल गर्ने उद्योगलाई दिँदै आएको अन्तःशुल्क छुट बढाइएको छ भने १२५ सिसीभन्दा माथिका मोटरसाइकल तथा स्कुटर आयातमा अन्तःशुल्क बढाइएको छ ।

सुझावित समाचार