एक सातामा एक सय ४५ अंकले घटेको बजार बियरिस प्रवृत्तिमा प्रवेश गरेको देखिन्छ । लगानीकर्ता प्यानिक सेलमा देखिएसँगै गत साता सोमबारदेखि घट्न रोकिने प्रयासमा देखिए पनि नेप्सेको यस्तो प्रयास सफल भएन ।
बैंक तथा वित्तीय संस्थामा कायम तरलता अभाव, कर्जा लगानीमा देखिएको समस्या र लाभांश मौसम सकिन लाग्दै गर्दा लगानीकर्ता थप आत्तिएका हुन् । बजारमा प्यानिक सेल बढेसँगै लगानीकर्ता मुखैमा आएको लाभांशसमेत छाडिरहेका छन् ।
उच्च लाभांश दर प्रस्ताव गरेका लघुवित्त संस्थाहरूको समेत सेयर मूल्यमा उच्च गिरावट आइरहेको छ । ३१ प्रतिशत लाभांश प्रस्ताव गरेको नेरुडे लघुवित्त, ३० प्रतिशत लाभांश दिएको छिमेक लघुवित्त, २५ प्रतिशत लाभांश घोषणा गरेका स्वावलम्बन लघुवित्तलगायत अन्यको मूल्य घटिरहेको छ । कतिपय लघुवित्तहरूको खराब कर्जादर उच्च देखिन थालेपछि पनि बियरिस बजारमा लगानीकर्ता होल्ड गर्ने मनस्थितिमा नदेखिएका हुन सक्छन् । केही लघुवित्तको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ ।
गत साता बजारमा कारोबार रकम करिब ७ प्रतिशतका दरमा घटेको छ । साताभरमा १९ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको हो । अघिल्लो साता कुल २० अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
गत साताभरमा सबै समूहगत परिसूचक घटेका छन् । होटेल र विकास बैंक समूहगत परिसूचक सबैभन्दा धेरैले घटेका छन् । यी समूहगत परिसूचकमा ९ प्रतिशत हाराहारी गिरावट आएको हो । साम्लिङ पावरको सबैभन्दा धैरेले मूल्य बढेको छ भने ग्लोबल आइएमई लघुवित्तको सबैभन्दा धेरै करिब ३० प्रतिशतले मूल्य घटेको छ ।
प्राविधिक विश्लेषण
बजारको प्रवृत्ति बियरिस देखिएको छ । अल्पकालीन प्राविधिक विश्लेषणको औजार मैनबत्ती चित्रका आधारमा बजार केही समय थप घट्ने संकेत देखिएको छ । अन्तिम दिन बनेको कालो (रातो) मैनबत्तीले आइतवबार बजार घट्न सक्ने संकेत गरिरहेको छ । गत बुधबार बजार झर्नबाट केही रोकिने प्रयासमा देखिएको भए पनि खासै सफल हुन सकेन ।
नेप्सेको आरएसआई सूचक स्केल ३५ दशमलव ६५ मा आएको छ । यसले बजारमा मागको तुलनामा आपूर्ति बढेको देखाउँछ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमा अधिक खरिद रहेको विश्लेषण गरिन्छ ।
नेप्सेको २१ दिने मुभिङ एभरेज रेखाले सातदिने रेखालाई काटेर माथि लागेको छ । यसले बजार बियरिस प्रवृत्तिमा आएको संकेत गर्छ । यद्यपि, केही समय पर्खनु सही हुन्छ । यसमा चाँडो–चाँडो प्रवृत्ति परिवर्तन भइरहेकाले पनि यसलाई ध्यान दिनुपर्नेछ ।
पिभट विश्लेषणले भने आगामी साता दुई हजार पाँच सय ३४ मा पहिलो टेवा प्राप्त गर्न सक्ने र यसले बजार बढ्न थालेमा भने दुई हजार ६ सय ८४ मा पहिलो प्रतिरोध हुने देखिएको छ ।