नेपाल ग्लोबल छनोटमा पुग्न सकेन

युएईसँग नेपाल ४८ रनले पराजित

सोमबार, १३ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा स्थान बनाउन सकेन । एसियन ग्लोबल छनोटअन्तर्गत आइतबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको हो । राउन्ड रोबिन लिगमा अपराजित रहँदै युएईले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । एसियन छनोटमा शीर्ष स्थानमा रहने टोली ग्लोबल छनोटमा पुग्ने व्यवस्था छ । युएईले पाँचै खेल जित्दै सर्वाधिक १० अंक जोडेको छ । 

नेपालले युएईलाई हराउँदा छनोट हुने सम्भावना थियो । तर, निर्णायक खेलमा फराकिलो अन्तरले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना पुनः एकपटक तुहिएको छ । युएईमा भएको छनोट प्रतियोगितामा नेपालले खेलेका पाँचमध्ये तीन खेलमा जित निकाल्यो । ६ अंकका साथ नेपाल तेस्रो स्थानमा झरेको छ । नेपाल प्रतियोगिताको पहिलो खेलमा हङकङसँग पराजित भएको थियो । हङकङ आठ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । नेपालले भुटान, कुवेत तथा मलेसियामाथि सानदार जित निकालेर छनोटको आशा जगाएको थियो । प्रतियोगितामा कुवेतले भने पाँचै खेल गुमाएको छ । 

नेपाललाई युएईको १२८ रनको लक्ष्य
आइसिसिए–२ मैदानमा युएई महिला टोलीले पहिलो ब्याटिङ गरी पाँच विकेटको क्षतिमा एक सय २७ रन जोडेको थियो । प्रत्युत्तरमा नेपाल १९.२ ओभरमा ७९ रनमै समेटियो । युएईको जितमा चमानी सेनेभिरात्नले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनले ब्याटिङका क्रममा ३६ बलमा ५२ रन र बलिङ गर्दा ६ रन खर्चेर दुई महत्वपूर्ण विकेट लिएकी थिइन् । यसै प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच घोषित भइन् । ब्याटिङ गर्दा उनले सात चौका प्रहार गरिन् । 

लक्ष्य पछ्याएको इनिङ्समा नेपालको ब्याटिङ कमजोर देखियो । नेपालले पाँचजना ब्याट्सम्यान गुमाउँदा स्कोर बोर्डमा ५८ रन जोडेको थियो । त्यसवेला १३औँ ओभर चलिरहेको थियो । ओपनर इन्दु बर्मा र सीता रानामगरले पहिलो विकेटका लागि २.२ ओभरमा १७ रनको साझेदारी गरी युएईमाथि दबाब राखे । सीताको विकेटसँगै नेपालको ब्याटिङ धर्मराउँदै गयो । ओपनर इन्दु आउट हुँदा नेपाल ४३–४ को अवस्थामा थियो । 

इन्दुले २० बलमा एक चौकाको सहयोगमा १५ रन तथा सीताले आठ बलको सामना गरी तीन चौकाको मद्दतमा १३ रन बनाएका थिए । यी दुई ब्याट्सम्यानबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन नसक्दा नेपाल सहजै युएईसँग पराजित भयो । खेलमा कविता कुँवरले ४, कप्तान रुविना क्षेत्रीले ८, सीता मगरले ८ तथा अप्सरी बेगमले ४ रन बनाएका थिए । अप्सरीपछिका चार ब्याट्सम्यानले समग्रमा आठ रन मात्रै जोडे । नेपालको इनिङमा सर्वाधिक रन अतिरिक्तबाट आयो । युएईले १७ अतिरिक्त रन दिएको थियो । 

पहिलो ब्याटिङ गरेको युएईको सुरुवात कमजोर रह्यो । ओपनर ईशा ओजा चार रनमै आउट भइन् । त्यसपछिका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दा नेपालले युएईलाई रोक्न सकेन । युएई दोस्रो तथा तेस्रो विकेटका लागि मजबुत साझेदारीको साथ पायो ।  ओपनर थिर्था सतिस र काभिसा इगोडजेले दोस्रो विकेटका लागि ५८ रनको बलियो साझेदारी गर्दै युएईलाई ४–१ बाट ६२–२ को अवस्थामा पुर्याए । काभिसाले २७ बलमा एक चौकाको सहयोगमा २२ रनको योगदान दिइन् । सतिस र चमारीले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे । सतिसले ४६ बलमा तीन चौका प्रहार गरी ४७ रन बनाइन् । नेपाली बलरले निकै अनुशासित रूपमा बलिङ गरेका थिए । 

 सीता रानामगर एसिया छनोटकै सर्वोत्कृष्ट
नेपाल ग्लोबल छनोटमा नपुगे पनि उपकप्तान तथा ब्याट्सम्यान सीता रानामगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेकी छन् । सीताले पाँच खेलमा एक सय रन बनाउनुका साथै ६ विकेट लिएकी थिइन् । यही प्रदर्शनका आधारमा उनी एसियन छनोट प्रतियोगिताको म्यान अफ दी सिरिज भएकी हुन् । सीताले हङकङविरुद्ध ४० रन, भुटानविरुद्ध १७ रन, मलेसियाविरुद्ध ३० रन, युएईविरुद्ध १३ रन बनाइन् । बलिङ क्रममा हङकङसँग एक विकेट, भुटानविरुद्ध तीन, कुवेतविरुद्ध एक र युएईविरुद्ध एक विकेट लिइन् । 
 

सुझावित समाचार