कफीको पनि बिमा हुने

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

अबदेखि कफीखेतीको पनि बिमा गर्न सकिने भएको छ । नेपालको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन बिमा समितिले उत्पादनमा आधारित कफीखेती बिमा पोलिसी सञ्चालनमा ल्याएको हो ।कफीखेती गर्दा भइपरी आउने कुनै पनि दुर्घटना हुने आर्थिक क्षतिलाई कम गर्न समितिले कफी बिमालेख जारी गरेको हो ।

कृषकले एक वर्षभन्दा कम वा सोभन्दा बढी अवधिको खेतीको बिमा गर्ने सक्नेछन् । कफीसँगै कृषकको दुई लाख रुपैयाँबराबरको दुर्घटनासमेत गर्न सकिनेछ । कफीखेती बिमा पोलिसीले खेतीमा हुने आगलागी वा अग्निका कारणले भएको क्षतिको रक्षावरण गर्नेछ । साथै, बिमा अवधिभित्र बिमितको दुर्घटनाबाट मृत्यु भएमा बिमांकको अतिरिक्त दुर्घटना बिमाबापत दुई लाख रुपैयाँ बिमकले बिमितलाई भुक्तानी गर्नेछ । 

 कफीखेती बिमामा पनि सरकारको अनुदान
कृषकले कफीखेती बिमामा पनि सरकारबाट अनुदान पाउनेछन् । कृषकलाई बिमामा आकर्षित गर्न सरकारले कृषि बिमाको बिमाशुल्कमा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । समितिका अनुसार कफीखेती बिमा पोलिसीको बिमाशुल्क गणना कफीको बोट र उत्पादनका आधारमा गरिनेछ ।

कफीको बोट संख्याले प्रतिबोटको मूल्यलाई गुणा गर्दा आउने रकम र कफीको बोट संख्यालाई प्रत्येक बोटले उत्पादन गर्ने कफीको मूल्यले गुणा गर्दा आएको रकम नै बिमांक रकम निर्धारण गरिनेछ । सो बिमांक रकमको ५ प्रतिशत बिमाशुल्क लाग्नेछ । यसरी निकालिएको बिमाशुल्कमा कृषकको दुर्घटना बिमाबापतको बिमाशुल्क पाँच सय जोडिनेछ । यसरी जोडिएर निकालिएको रकममा सरकारले ७५ प्रतिशत अनुदान दिनेछ । 

See More On

सुझावित समाचार