कांग्रेस अधिवेशन : लमजुङमा प्रदेश प्रतिनिधिसहित १४ सदस्य निर्विरोध

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १ मात्र प्रतिनिधिसभा रहेको लमजुङमा सोमबार जिल्ला अधिवेशन भएको छ । जिल्ला अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधि अपांगतातर्फका एकजना निर्विरोध निर्वाचित भएका छन् भने जिल्ला कार्यसमितिका १३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रदेश अधिवेशन प्रतिनिधि (अपांगता) तर्फ प्रदीपराज कडरिया निर्विरोध निर्वाचित भएका हुन् । 

महिलातर्फ सदस्यमा सुन्दरबजार नगरपालिकाबाट श्यामका घिमिरे रेग्मी, मर्स्याङ्दी गाउँपालिकाबाट कुशकाशी गुरुङ, क्व्होलासोंथर गाउँपालिकाबाट सिर्जना गुरुङ, दूधपोखरी गाउँपालिकाबाट रश्मी गुरुङ र दोर्दी गाउँपालिकाबाट निशा लामा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, खुलातर्फ मर्स्याङ्दी गाउँपालिकाबाट हरिश्चन्द्र थापा, क्व्होलासोंथर गाउँपालिकाबाट बुद्धिप्रसाद गुरुङ र दोर्दी गाउँपालिकाबाट प्रेमबहादुर घिमिरे (कुलबहादुर घिमिरे) जिल्ला कार्यसमितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, खसआर्य महिला सदस्यमा मनु पन्त खत्री र सीता शाही निर्विरोध भएका छन् । आदिवासी जनजाति महिला सदस्यमा कृष्णकुमारी गुरुङ, चिजमाया गुरुङ (आशा) र तुलसी गुरुङ निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए । 

निर्वाचन अधिकृत थानेश्वर दवाडीका अनुसार सभापतिसहित सात पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधितर्फ २८ जनाका लागि ६२ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यसमिति सदस्य निर्विरोधबाहेक २१ जनाका लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधितर्फ प्रत्यक्ष महिला चारजनाका लागि नौजनाले उम्मेदवारी दिएका छन् ।

१० जना खुलाका लागि २५ जनाले उम्मेदवारी दिएका छन् ।  खसआर्य महिला एकजनाका लागि दुईजना, खसआर्य खुला दुईजनाका लागि चारजना, आदिवासी जनजाति महिला दुईजनाका लागि चारजना, आदिवासी जनजाति खुला तीनजनाका लागि ६ जना, दलित महिला एकजनाका लागि दुईजना, दलित खुला एकजनाका लागि दुईजना, खसआर्य महिला एकजनाको लागि दुईजना, खसआर्य खुला दुईजनाका लागि चारजना, अल्पसंख्यक वा अपांगता एकजनाको लागि दुईजनाको उम्मेदवारी परेको छ ।

निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका सभापतिका प्रत्याशी टकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका प्रत्याशी गमप्रसाद गुरुङले प्यानलसहित उम्मेदवारी दिएका छन् । टकराजको टिमबाट उपसभापतिका लागि लोकनाथ घिमिरे र श्रीकान्त घिमिरेले उम्मेदवारी दिएका छन् भने गमप्रसादको टिमबाट आनन्द घिमिरे र खड्गबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

टकराजको टिमबाट सचिवमा नवीनचन्द्र घिमिरे र कृष्णबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् भने गमप्रसादको टिमबाट विमल श्रेष्ठ र राजकुमार पाण्डेले सचिव पदमा उम्मेदवारी दिएका छन् । उपसचिवमा टकराजको टिमबाट मदनसिंह घिमिरे र विश्व पौडेलले उम्मेदवारी दिएका छन् । गमप्रसाद समूहबाट सूर्यकला बराल (कोइराला) र नरबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । लमजुङमा केन्द्रीय तालिकाअनुसार यसअघि शुक्रबार प्रदेश ‘क’ क्षेत्र र प्रदेश ‘ख’ क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको छ । जसमध्ये प्रदेश ‘क’ मा देउवा पक्ष हाबी रहेको छ भने प्रदेश ‘ख’ क्षेत्रमा पौडेल पक्षको वर्चस्व रहेको छ ।
 

सुझावित समाचार