एमसिसी सम्झौताबारे शीघ्र निर्णय लिन आग्रह गर्दै अमेरिकी सहायकमन्त्रीले भने– नेपालले एमसिसी लिँदैन भने अन्त लैजान्छौँ

शनिबार, ४ मंसिर, २०७८
डिजिटल संस्करण
एमसिसी सम्झौताबारे शीघ्र निर्णय लिन आग्रह गर्दै अमेरिकी सहायकमन्त्रीले भने– नेपालले एमसिसी लिँदैन भने अन्त लैजान्छौँ

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्दै । तस्बिर : रासस

अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेश सहायक मन्त्री डोनाल्ड लुले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे शीघ्र निर्णय लिन नेपाललाई आग्रह गरेका छन् । औपचारिक भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्किनुअघि अमेरिकी राजदूतको निवासमा कूटनीतिक मामिला हेर्ने पत्रकारसँग लुले ‘नेपालले एमसिसी नचाहे अन्य मुलुकमा लैजाने’ सन्देश प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूलई दिएको स्पष्ट पारेका छन् ।

एमसिसी नेपालले नलिए पनि नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने पनि उनले बताएका छन् । ‘नेपाल चाहन्छ भने एमसिसी भोलिदेखि नै कार्यान्वयनमा आउनेछ, यदि नेपालले चाहेको छैन भने हामी अन्त लैजान्छौँ, यसमा केही छैन,’ शीर्ष नेता र उच्च अधिकारीहरूसँग भेटवार्ता सकेर स्वदेश फर्किनुअघि लुले भने, ‘यसबारेमा बृहत् छलफलबाट उपाय निकाल्न नेपाली शीर्ष नेताहरूले चाहेको मैले बुझेको छु । तर, यसले लामो समय लिनुहुँदैन किनभने दुई वर्ष अबेर भइसकेको छ ।’

एमसिसी लिने कि नलिने निर्णय नेपालको हातमा रहेको भन्दै उनले एमसिसीबारे नेपालमा गलत सूचना फैलाइएको पनि गुनासो गरे । ‘एमसिसी लिने कि नलिनेमा होइन, एमसिसीबारे गलत सूचना फैलाइएको प्रति हाम्रो चिन्ता छ,’ लुले भने, ‘लिन चाहनुहुन्छ कि हुन्न भनेर हामीले सरकारलाई सोधेका छौँ । नेपाल सरकारको छनोटमा हाम्रो केही भन्नु छैन ।’ 

उनले २८ मंसिरमा एमसिसी बोर्डको बैठक रहेको, तर नेपाललाई त्यही मितिसम्म एमसिसी सम्झौता लिने वा नलिनेबारे निर्णय लिन आग्रह नगरिएको पनि बताए । यद्यपि, उनको भेटवार्ताहरूबारे जानकार कूटनीतिक स्रोतले आगामी चुनावभन्दा अघि नै यसबारे निर्णय लिन अमेरिकाले आग्रह गरेको छ ।

लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा शुक्रबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । लुले परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाणलगायतसँग पनि शुक्रबारै भेटेका थिए । 

नेपाल, भुटान, श्रीलंका बंगलादेश र माल्दिभ्ससँगको सम्बन्ध हेर्ने उपसहायक मन्त्री केली केइन्डरलिङलाई सँगै राखेर लुले भने, ‘एमसिसी लिन चाहनुहुन्न भने पनि ठीक छ । विश्वमा धेरै मुलुकले एमसिसी लिन चाहेका छन् । यो पारित गर्ने कि नगर्ने भन्ने कुरा यहाँका सार्वभौम जनता, सार्वभौम संसद्ले लिने निर्णयमा भर पर्छ ।’ 

शीर्ष नेताहरूले भने आफूलाई बृहत् छलफलका आधारमा एमसिसी पारित गर्ने विश्वास दिलाएको उनले बताए । ‘नेपाली नेताहरूसँगको छलफलबाट म प्रभावित भएँ, उनीहरूको इच्छाशक्तिलाई म सम्मान गर्छु,’ उनले भने, ‘हिमाल र नदीको संरक्षण, नेपालको विकास र अमेरिकासँग सम्बन्ध थप सुदृढ बनाउनुपर्ने इच्छा मैले पाएँ । हामी कोभिड– १९, नवीकरणीय ऊर्जा, विकास र पूर्वाधारका क्षेत्रमा नेपाललाई सहयोग गर्न, नेपालसँग सहकार्य गर्न चाहन्छौँ ।’

अर्को प्रसंगमा उनले नेपालको राजनीति जटिल र अस्पष्ट लागेको पनि बताए । शीर्ष नेताहरूसँग खुलेर हँसिमजाकसमेत गरेको र प्रचण्डबाट प्रभावित भएको उनको भनाइ थियो । नेपाललाई अमेरिकाले बेग्लै आँखाले हेरिरहेको र अहिले नेपाल, भुटान, माल्दिभ्स, श्रीलंका, बंगलादेश र बंगलादेश हेर्ने बेग्लै क्लस्टर बनाएको उनको भनाइ थियो । 

भारतसँग अमेरिकाको बेग्लै सम्बन्ध रहेको र नेपाललगायत देशसँग अलग्गै रहेको उनको भनाइ थियो । नेपालसँग आर्थिक विकास, लगानी, व्यापार, जनस्तरको सम्बन्ध बढाउन चाहेको, सार्वभौम र स्वतन्त्र नेपालका पक्षमा अमेरिका उभिएको बताउँदै लुले भने, ‘दुई ठूला देशहरूको बीचमा नेपाल रहेको हामीले राम्रोसँग बुझेका छौँ । तर, नेपालको असाध्यै जटिल राजनीतिचाहिँ मैले बुझेको छैन ।’
 

See More On

सुझावित समाचार