मुनाफाको आसमा जोखिम उठाउने उद्यमीले परिवर्तनकारी प्रविधिको उत्पादन गरेमा मात्र कार्बन–शून्य लक्ष्य हासिल हुन सक्छ
खासमा मानिसहरू आफूले पृथ्वी र यसको वातावरणलाई पुर्याएको क्षतिलाई उल्ट्याउने कदम उठाउन त्यति गम्भीर हुँदैनन् । विश्वले गम्भीरता लिँदाको दृश्य कोभिड–१९ महामारीमा देखियो । महामारीका कारण विश्व अर्थतन्त्र अन्त्य हुने भयो भन्ने लागेपछि विश्वले मुनाफा र नयाँ प्रविधिलाई सक्रिय बनायो । नवप्रवर्तन क्षेत्रका अग्रणी जैविक–प्राविधिक कम्पनी पी–फाइजर–बाओएनटेक, मोडेर्ना र अन्य साना स्टार्ट–अप एक ठाउँमा आए । तिनले आजको विशाल कम्प्युटिङ शक्ति प्रयोग गरेर चमत्कार भरे । भाइरसबाट बच्न विश्व लकडाउनमा बसेको एक वर्षभन्दा केही बढी समयमा पश्चिममा धेरैले कोभिडविरुद्धको खोप लगाउन थालिसकेका थिए ।
ग्लास्गोजस्ता भेलामा विश्व नेता कार्बन उत्सर्जन कटौती गर्न, जैविक विविधिता संरक्षण गर्न र एकअर्कालाई उत्तरदायी बनाउन प्रयास गरिरहेका हुन्छन् । उनीहरूको प्रयासप्रति कुनै आशंका छैन । तर, १९५ मुलुकका लागि न्यूनतम साझा लक्ष्य तोकेर मात्र विश्व अर्थतन्त्र कार्बनमुक्त हुन सक्दैन । मुनाफाको आसमा जोखिम उठाउने उद्यमीले परिवर्तनकारी प्रविधिको उत्पादन गरेमा मात्र कार्बन–शून्य लक्ष्य हासिल हुन सक्छ । छोटकरीमा भन्दा हामीलाई ग्रेटा थर्नबग्र्स र धेरै एलन मस्क चाहिन्छ । सुखद समाचार के हो भने यो यथार्थमा परिणत हुन थालिसकेको छ ।
म यहाँ दुई उदाहरण प्रस्तुत गर्दै छु । पहिलो हो, प्लानेट डटकम । सन् २०१० मा नासाका तीन पूर्ववैज्ञानिकले सुरु गरेको यो वेबसाइटले करिब दुई सय भू–उपग्रह प्रयोग गरेर पृथ्वीको सारा भूमण्डलको तस्बिरलाई अध्यावधिक गर्दै छ । वेबसाइटको स्वामित्वमा रहेका यी भू–उपग्रहमध्ये अधिकांश एउटा सानो पाउरोटी जत्रा मात्र छन् । तर, तिनले पृथ्वीको सम्पूर्ण भूखण्डको प्रत्येक २४ घन्टामा अवलोकन गर्ने गर्छन्, त्यो पनि अत्यन्त स्पष्टतासाथ । यसले पृथ्वीको भूगोलमा भइरहेको परिवर्तनलाई मूल्यांकन गर्न सघाउँछ । विश्वका कुनै सरकारसँग यो क्षमता छैन । यो नयाँ पारदर्शी औजारको सहायताले पुँजीवादलाई नै नयाँ आकार दिन सकिन्छ ।
वर्षौंदेखि कानुनी छुट र मुनाफाका लागि पेट्रोलियम तथा कोइला कम्पनीले पृथ्वीबाट बेहिसाब स्रोत निकालिरहे । उनीहरूले यी स्रोतलाई निःशुल्क, कहिल्यै नसकिने र कुनै दुस्परिणाम नहुने झैँ व्यवहार गरिरहे । यसका कारणले यी कम्पनीले वातावरणमा ठूलो क्षति पुर्याए । तिनले पुर्याएको क्षति वास्तविक समयमा देख्न कठिन हुने हुँदा उपभोक्तासँग प्रतिक्रिया जनाउने औजार थिएन । धेरै सुधार अदालती आदेशबाट मात्र भए । तर, प्लानेट डटकम अब उपभोक्ताको सहायक बन्नेछ । यसका भू–उपग्रहले एआई प्रयोग गरेर कुनै देशको रूखबिरुवा, खेत, तटीय वनस्पति र धुवाँजन्य उत्सर्जनमा आएको बदलावलाई एकदम सटिकतासाथ पहिल्याउन सक्नेछ । अब वातावरणीय तथा जैविक विविधतामा हानि पुर्याउने कम्पनी जिम्मेवारीबाट उम्कन सक्दैनन् । न त कुनै मुलुकले कार्बनडाइअक्साइड उत्सर्जनसम्बन्धी वाचाअनुरूप काम भए÷नभएको लुकाउन सक्छन् ।
प्लानेट डटकमले पहिल्याएको तथ्यांक प्रयोग गरेर उपभोक्ताले वातावरणमा क्षति पुर्याउने खाद्य तथा खानी कम्पनीविरुद्ध बहिष्कार अभियान चलाउन सक्छन् । प्राकृतिक स्रोतको संरक्षणमा सक्रिय रहेका समुदाय तथा सरकारलाई वैदेशिक अनुदान वा लगानी दिन यसले सघाउँछ । उदाहरणका लागि, प्लानेट डटकमका सञ्चालक संस्थाले वैज्ञानिकको एक समूह र सहयोगी साझेदारसँग मिलेर विश्वमा बाँकी रहेको कोरल रिफ (समुद्रभित्र रहेको मुगा चट्टानको शृंखला)को विस्तृत नक्सांकन गर्न सघायो । एलेन कोरल एट्लस नाम दिइएको नक्सांकन प्रयोग गरेर फिलिपिन्सले देशभर नौ नयाँ समुद्री संरक्षित क्षेत्रको योजना बनाएको छ । वेबसाइटका सूचनालाई ब्राजिलको वर्षा–वन संरक्षण र बाली उब्जनी वृद्धिमा प्रयोग भइरहेको छ ।
अर्को उत्साहप्रद कम्पनी हो, हेलियोन इनर्जी । वासिङ्टनको रेडमोन्डमा रहेको यो कम्पनीले ‘विश्वको पहिलो फ्युजन संयन्त्र’मा काम गरिरहेको छ । फ्युजन ऊर्जालाई धेरै पहिलेदेखि स्वच्छ ऊर्जाको ठूलो सम्भावनाका रूपमा हेरिएको छ । सूर्यलगायत ताराहरूमा फ्युजन प्रतिक्रियामार्फत ऊर्जा सिर्जना हुन्छ । यसलाई पृथ्वीमा नक्कल गर्न सकियो भने स्वच्छ, सुरक्षित र सबैको पहुँचमा हुने अथाह ऊर्जा प्राप्त हुनेछ । गत जुनमा हेलियोनको पछिल्लो प्रणालीले फ्युजन प्लाज्मालाई १० करोड डिग्री सेल्सियस तातो बनायो । यो झन्डै–झन्डै ठूलो परिमाणमा फ्युजन सुरु गराउन सक्ने तापबराबर जस्तै ताप हो । ५ नोभेम्बरमा ग्लास्गो सम्मेलन चलिरहँदा हेलियोनले ५० करोड डलरको लगानी संकलन भएको घोषणा गर्यो ।
टेकक्रन्च डटकमको समाचारअनुसार ‘हेलियोनको वर्तमान पुस्ताको प्रणालीको जेनेरेटर एउटा ढुवानी कन्टेनरभन्दा केही ठूलो मात्र हुनेछ । ५० मेगावाट बिजुली उत्पादन गर्ने यो जेनेरेटरले ४० हजार अमेरिकी घरलाई बिजुली पुर्याउन सक्छ । यो प्रविधिबाट उत्पादन हुने बिजुलीको मूल्य कोइलाबाट चल्ने बिजुलीको तुलनामा एकतिहाइ मात्र हुनेछ ।
हेलियोनले विश्वको स्वच्छ ऊर्जाको सपना पूरा गर्ला ? अहिले नै भन्न सकिन्न । अन्य विभिन्न कम्पनी पनि यही उद्देश्य हासिल गर्ने दौडमा छन् । तर, यति भन्न सकिन्छ– आजको विपद् पुँजीवादको खराबीले सिर्जना गरेको हो । कम्पनीहरूले मुनाफा आफूसित राख्ने, तर तिनको क्रियाकलपाले सिर्जना भएको वातावरणको खराबी भने हामी सबैले भोग्नुपर्ने अवस्था छ । तर, पुँजीवादको उत्कृष्ट पक्षलाई तीव्र बनाइयो भने अहिलेको समस्याबाट बाहिरिन कठिन छैन । नयाँ पत्रिका र न्युयोर्क टाइम्सको सहकार्य