सातौँ धारा नेपालगन्ज म्याराथनमा सबै विधाको नगद पुरस्कार राशिमा वृद्धि भएको छ । यस वर्ष म्याराथन विजेताले एक लाख रुपैयाँ पाउने भएका छन् । गत वर्ष म्याराथनका विजेताले ७५ हजार रुपैयाँ पाएका थिए । प्रतियोगिता आयोजक नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीका अनुसार म्याराथन (पुरुष) तथा हाफ म्याराथन (महिला) तर्फ शीर्ष सातजनालाई नगद राशिबाट पुरस्कृत गरिनेछ ।
म्याराथनका उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौँलाई १० हजार, छैटौँलाई आठ हजार र सातौँलाई सात हजार प्रदान गरिने उनले जानकारी दिए ।
हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौँले आठ हजार, छैटौँले सात हजार र सातौँले ६ हजार पाउनेछन् । १० किलोमिटर खुला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला पाँच किलोमिटर खुलातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले सात हजार पाउने आयोजकले जनाएको छ ।
विद्यालय स्तरीय छात्र पाँच किलोमिटरमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुनेले पाँच हजार पाउनेछन् । तीन किलोमिटर छात्रा स्कुलतर्फ पहिलो हुनेले सात हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार प्रदान गरिने अध्यक्ष ठकुरीले बताए ।