बैंक ब्याजदरमा राष्ट्र बैंकले सीमा निर्धारण गरेसँगै सेयर बजारमा त्यसको प्रभाव देखिइरहेको छ । यसैकारण सोमबार २६ दशमलव ४४ अंकले बढेको बजार मंगलबार पनि ६९ भन्दा बढी अंकले बढेको छ । लगानीकर्ताले बैंकको यही ब्याजदर सीमालाई टेकेर बजारमा लगानी बढाएका छन् । लगानीकर्ता राधा पोखरेलले राष्ट्र बैंकको अहिलेको निर्णयले सानादेखि ठूला लगानीकर्तालाई पुँजी बजारप्रति थप विश्वास राख्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताइन् । केन्द्रीय बैंकले सेयर कर्जामा लगाएको चार करोड र १२ करोड रुपैयाँको सीमालाई समीक्षा गरी आवश्यक संशोधन गर्ने हो भने बजारमा अझ सुधार आउनुका साथै लगानीकर्ताको भविष्य सुरक्षित हुने पोखरेलको भनाइ छ ।
मंगलबार सूचक ६९ दशमलव २२ अंकले बढेर २७ सय ८४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक सकारात्मक रहेका छन् । जसमध्ये लगानीकर्ता जलविद्युत्तर्फ बढी आकर्षित भएको देखिएको छ । यो समूहको सूचक ५ दशमलव ३९ प्रतिशतले बढ्दा लगानीकर्ता फाइनान्सबाट जलविद्युत् समूहतर्फ आकर्षित भएका छन् ।फाइनान्स, जीवन बिमा, अन्य समूहको सूचक सर्वाधिक बढेको छ । त्यस्तै, वाणिज्य बैंक समूहको सूचक १ दशमलव १९ प्रतिशतले बढेको छ ।
उच्च अंकले बढेको नेप्सेमा ८ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, नेपाल दूरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्स ९ दशमलव ५३ प्रतिशत, श्रीइन्भेस्टमेन्ट फाइनान्स ९ दशमलव ४३ प्रतिशत, लिबर्टी इनर्जी कम्पनीको ९ दशमलव २१ प्रतिशतले बढेको छ ।मंगलबार सर्वाधिक घट्नेमा विजय लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको २ दशमलव ३७ प्रतिशतले घटेको छ । लाभांश प्रस्ताव गरेकै दिन सेयर मूल्य घटेको छ । संस्थाले कुल २१ दशमलव ०८५ प्रतिशत प्रस्ताव गरेको छ । त्यस्तै, १० प्रतिशत नेपाल एसबिआई बैंक डिभेन्चर–२०८६ को २ दशमलव ३४ प्रतिशतले घटेको छ ।
कारोबार रकममा पनि सुधार आएको छ । चार अर्बमाथि कारोबार हुँदै आएकोमा मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको एक करोड कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ५२ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको ३७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, नेसनल हाइड्रोपावर कम्पनीको ३० करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, नेपाल लाइफ इस्योरेन्स कम्पनीको २३ करोड रुपैयाँदेखि १५ करोड रुपैयाँसम्म कारोबार भएको छ ।