धनी मुलुकको जलवायु पाखण्ड

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

सबैजसो धनी मुलुकका नेताका बोली तिनका वास्तविक वातावरणीय रणनीतिभन्दा फरक देखिन्छ


विश्वका धेरै मानिसहरू हालै सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (सिओपी–२६)को निष्कर्षबाट सन्तुष्ट छैनन् । सम्मेलनमा विकसित देशका नेताहरूले अझै पनि जलवायु परिवर्तनले निम्त्याएको चुनौतीलाई गम्भीर रूपले नलिएको देखियो । सार्वजनिक खपतका लागि भाषण गर्दा उनीहरू यसको गम्भीरताबारे त बोल्छन्, तर व्यवहारमा भने उनीहरू राष्ट्रिय स्वार्थलाई पछ्याउने गर्छन् ।

अन्य मुलुकले झैँ धनी मुलुकले पनि कार्बन उत्सर्जन शून्यमा झार्ने समयसीमा त घोषणा गरेका छन्, तर त्यहाँसम्म पुग्ने स्पष्ट तथा तत्कालीन कार्यान्वयन गर्ने प्रतिबद्धता जारी गरेका छैनन् । अर्थात्, सबैजसो धनी मुलुकका नेताका बोली तिनका वास्तविक वातावरणीय रणनीतिभन्दा फरक देखिन्छन् । जबकि, अन्य स्थितिमा तिनका बोली अलग हुने गरेको छ । सम्मेलनमा सहभागी जी–७ का नेताले आगामी केही दशकमा कार्बन उत्सर्जन कटौती गर्ने विषयमा कमजोर प्रतिबद्धता जनाएका छन् । देशभित्र तिनै नेता मध्य अवधिमा हरित गृह उत्सर्जन बढाउने गरी खनिज इन्धनमा गरिने लगानी सहज बनाउने मार्ग खुलाउन सक्रिय छन् । 

उदाहरणका लागि राष्ट्रपति जो बाइडेनले ग्लास्गोमा गरेको सम्बोधनमा ‘हामीले ऊर्जा मूल्यमा अहिले अस्थिरता देखिरहेका छौँ, ऊर्जाको उच्च मूल्यलाई हेरेर पनि ऊर्जालाई विविधीकरण गर्न आवश्यक छ । अब हामीले स्वच्छ ऊर्जा प्रयोगलाई थप जोड दिनुपर्छ ।’ तर, त्यसको तीन दिनपछि बाइडेन प्रशासनले ‘ओपेक प्लस’ले तेल उत्पादन नबढाएको आक्रोश पोखेको देखियो । ओपेक प्लसले तेलको उत्पादन नबढाएकाले विश्वव्यापी आर्थिक पुनरुत्थानलाई असर पर्ने र अमेरिकाले इन्धन मूल्य घटाउन आवश्यक ‘सबै औजार’ प्रयोग गर्ने चेतावनी दिएको छ । यो धनी मुलुकको जलवायु पाखण्डको पछिल्लो एक उदाहरण हो, तर यस्तो उदाहरण असंख्य भेटिन्छन् । धनी मुलुकको जलवायुसम्बन्धी पाखण्ड कोप–२६ चलिरहँदा पनि देखियो ।

कोप–२६ मा विकासोन्मुख मुलुकका वार्ताकारहरूले धनी अर्थतन्त्रले बन्द कोठाको बैठकमा भन्ने कुरा र सार्वजनिक रूपमा व्यक्त गर्ने कुरा एकदम फरक पाए । आज वातावरणमा जम्मा भएको कार्बनडाइअक्साइडको अधिकांश हिस्सा धनी मुलुकले उत्सर्जन गरेका हुन् । तर, ती मुलुक जलवायु परिवर्तनको असर भोगिरहेका विकासोन्मुख मुलुकलाई वित्तीय सहयोग दिने तिनको विगतको प्रतिबद्धताबारे कुरा चपाउन थालेका छन् । धनी मुलुकहरू जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित मुलुकमा पुगेको क्षति तथा असरलाई रोक्ने, घटाउने र सम्बोधन गर्न अनुदान दिन अस्वीकार गरिरहेका छन् । 

कोप–२६ को घोषित वाचामा पनि सम्पन्न मुलुकको दोहोरो मापदण्ड देखियो । अमेरिकालगायत २० मुलुकको समूहले सन् २०२२ सम्म कोइलालगायत अन्य खनिज इन्धनले चल्ने परियोजनामा दिइने सरकारी वित्त अन्त्य गर्ने वाचा गरेका छन् । तर, यो कुरा अन्तर्राष्ट्रिय परियोजनामा मात्र लागू हुनेछ, देशभित्र होइन । त्यस अतिरिक्त अमेरिका र अन्य कैयौँ मुलुकले नयाँ कोइलामा आधारित परियोजना नल्याउने र भएका परियोजनालाई पनि समयसीमा तोकेर विस्थापित गर्ने प्रतिबद्धता जनाउन अस्वीकार गरे । यस कुरामा विभिन्न २३ मुलुकले सहमति जनाएका छन् । र, ग्लास्गोमा कठोर वाचा गरिएको भए पनि धनी मुलुकका सरकारको मनशायप्रति प्रश्न उठ्ने थियो । विगतमा तिनले धेरै खोक्रो जलवायु वाचा गरिसकेका छन् । र, उनीहरूले निरन्तर जलवायु परिवर्तन गर्न अत्यन्त कम योगदान गर्ने विकासोन्मुख मुलुकका चाखलाई अवमूल्यन गरिरहेका छन् । 

विश्वभरका मानिस त्यसमा पनि विशेषतः सम्पन्न मुलुकका जनताले अर्थपूर्ण जलवायु कदमका लागि मुखर हुन आवश्यक छ 

सम्पन्न अर्थतन्त्रले विगतमा उत्सर्जन कटौती सम्बन्धमा आफैँले गरेका वाचा पूरा गरेनन् । तिनले विकासोन्मुख मुलुकलाई जलवायु वित्तको मात्र होइन, प्राविधिक हस्तान्तरणको पनि वाचा गरेका थिए । धनी मुलुकले १२ वर्षअघि कोपेनहेगनमा आयोजित कोप–१५ मा गरिब मुलुकलाई प्रतिवर्ष एक सय अर्ब डलर दिने वाचा गरेका थिए । सन् २०१५ को पेरिस जलवायु सम्झौताले सबै विकासोन्मुख मुलुक वित्तीय सहयोगमा समेटिने स्पष्ट गरेको छ । जलवायुका असरसँग जुध्न र नयाँ स्थितिमा अनुकूलित हुन खर्बौं डलर आवश्यक भएकाले एक सय अर्ब डलर वित्तीय सहयोग विकासोन्मुख मुलुकको आवश्यकताको तुलनामा निकै थोरै हो । त्यस्तै, कोभिड–१९ महामारीको अवधिमा धनी मुलुकले तिनको अर्थतन्त्रका लागि खर्च गरेको वित्त र मौद्रिक अनुदानको तुलनामा पनि यो निकै थोरै रकम हो । तर, धनी विश्वले यो सामान्य वाचासमेत पूरा गरेका छैनन् । 

सन् २०१९ मा विकासोन्मुख मुलुकलाई वितरण गरिएको कुल जलवायु वित्त ८० अर्ब डलरभन्दा कम थियो । सन् २०१३ यता बर्सेनि औसत ६७ अर्ब डलर विकासोन्मुख मुलुकले पाएका छन् । यो अंक पनि विकसित देशका सरकारबाट भएको वास्तविक बहावको तुलनामा निकै कम हो । किनकि, पेरिस सम्झौताले भनेअनुरूप धनी मुलुकले द्विपक्षीय सार्वजनिक जलवायु वित्त औसतमा बर्सेनि २७ अर्ब डलर मात्र दिएका छन् । जबकि, सन् २०१७ देखि सन् २०१९ बीच विश्वभर खनिज इन्धन अनुदानमा पाँच सय ५५ अर्ब डलर प्रयोग भयो । चीन र भारतजस्ता मुलुकले नवीकरणीय इन्धन उद्योगलाई प्रोत्साहन गर्न खोज्दा अमेरिकाले विश्व व्यापार संगठनमा उजुरी हालेको थियो । यो अल्पदृष्टियुक्त रणनीतिले कसैलाई फाइदा गर्दैन । यो रणनीतिले विकसित मुलुकले जुन फर्मका वित्तीय स्वार्थलाई सेवा पुर्याइरहेका छन्, तिनलाई समेत सहयोग पुग्दैन । 

ग्लास्गोमा विकसित मुलुकको अल्पदृष्टियुक्त रणनीतिविरुद्ध अभियन्ता र विद्यार्थीले निकालेको र्याली महŒवपूर्ण छन् । तर, त्यतिले मात्र धनी देशका सरकारको मार्ग परिवर्तन हुने छाँटकाँट छैन । खासमा मुख्य समस्या के हो भने शक्तिशाली कर्पोरेट स्वार्थ राजनीतिक नेतृत्वसँग जोडिन्छ । विश्वभरका मानिस त्यसमा पनि विशेषतः सम्पन्न मुलुकका जनताले अर्थपूर्ण जलवायु कदमका लागि मुखर हुन आवश्यक छ । साथमा, सम्पूर्ण देशको आर्थिक रणनीतिमा वास्तविक परिवर्तन आयो भने मात्र पृथ्वीको भविष्य सुरक्षित हुनेछ ।

सुझावित समाचार